सडक सुरक्षासम्बन्धी चौथो विश्व सम्मेलन : सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

सडक एवं सवारी दुर्घटनाका कारण हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न नेपालले नीतिगत व्यवस्था गर्ने अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता व्यक्त गरेको छ ।

मोरोक्कोको मोरोकेस सहरमा १८ देखि २० फेब्रुअरीसम्म भएको सडक सुरक्षासम्बन्धी चौथो विश्व सम्मेलनमा नेपालले यस्तो प्रतिबद्धता गरेको हो । सम्मेलनमा सडक सुरक्षाको विषय विश्वव्यापी चुनौती बनिरहेको अवस्थामा सडक तथा सडकका संरचना निर्माणसँगै सुरक्षालाई पनि प्राथमिकता दिने नेपालको प्रतिबद्धता छ । 

नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले देशको समग्र विकासलाई सडक सुरक्षासँग समेत जोडेर अघि बढाइने पनि प्रतिबद्धता व्यक्त गरेका हुन् । 

यस्तै, मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सडक सुरक्षाका सम्बन्धमा नेपालको अभ्यास, अवस्था तथा आवश्यकताका सम्बन्धमा प्रकाश पारेका थिए । सम्मेलनमा नेपालको तर्फबाट मन्त्रालयका सचिव शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

सचिव शर्मासहित मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, शुभराज न्यौपाने, उपसचिव शंकरसिंह धामी कार्यक्रममा सहभागी भएका थिए । यस्तै, नेपालमा सडक सुरक्षासम्बन्धी क्षेत्रमा कार्य गर्दै आएका संघ–संस्थाका प्रतिनिधि, अनुसन्धानकर्मीलगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा एक सय ३० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सुझावित समाचार