जुनियर नेतासँग जंगिए माधव नेपाल

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

पार्टी केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनियर केन्द्रीय सदस्यसँग बाझाबाझ गरेका छन् । केन्द्रीय कमिटी बैठकको दोस्रो दिन अध्यक्ष नेपालले केन्द्रीय सदस्य आरती लामासँग बाझाबाझ गरेका हुन् । पार्टीनिकट विद्यार्थी संगठनको अध्यक्ष रहेकी लामा गत साउनमा मात्रै केन्द्रीय सदस्य भएकी थिइन् । 

जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण केन्द्रमा जारी बैठकमा केन्द्रीय सदस्यका रूपमा धारणा राख्ने क्रममा लामाले ‘विधि र अन्याय’को विषय उठाएपछि अध्यक्ष नेपाल भोक्किएका हुन् । एक केन्द्रीय सदस्यका अनुसार ‘तातेका’ नेपाललाई सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल थमथमाएका थिए । 

लामाले अन्तर्पार्टी निर्देशन (अपानि)का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएकोप्रति प्रश्न उठाएकी थिइन् । ‘श्रद्धेय अध्यक्ष कमरेडसँग मेरो प्रश्न छ– केपी ओलीको अन्यायको विरुद्धमा विद्रोह गरेका हामी फेरि उस्तै अन्यायमा पर्नुपर्ने ? यो कस्तो विधि हो, कमरेड ?’

लामा पूरा बोल्न नपाउँदै नेपाल ‘चुप लाग्नुस्’ भन्दै जुरुक्क उठेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । नेपालले ‘चुप लाग्नुस्’ भन्दा आरतीले ‘मैले बोल्न पाउनुपर्छ’ भन्दै केन्द्रीय कमिटी बैठकले ‘न्याय दिनुपर्ने’ माग गरिन् । नेपालले ‘चुप लाग्नुस्’ भनिरहे । 

उनले अध्यक्ष नेपाल र महासचिव भुसालको नामै लिएर प्रश्न गरेकी थिइन् । ‘हामीले विधिका कुरा गरेका थियौँ, त्यसैका लागि विद्रोह गरेका थियौँ । आज विधि कहाँ गयो ? के यही हो विद्रोहको औचित्य ?’ एक सदस्यका अनुसार लामाको प्रश्न थियो । र, ‘यो प्रश्नको जवाफ मैले दिनुपर्ने भन्दै अध्यक्ष उफ्रिनुभयो,’ मञ्चमै रहेका एक नेताले नयाँ पत्रिकासँग भने । 

ती नेताका अनुसार खनालले ‘नेतृत्वले उफ्रेर हुँदैन, केन्द्रीय कमिटी बैठकमा कुरा नराखेर कहाँ राख्ने’ भन्दै नेपाललाई सम्झाएका थिए । भुसालले हात समातेर नेपाललाई शान्त रहन आग्रह गरेका थिए । नेपाल प्रतिकारकै शैलीमा तम्सिएपछि भुसालले आरतीलाई इसारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरेका थिए । 

२५ वर्षभन्दा बढी समय संगठनमा बिताए पनि नेतृत्वले विधिपूर्वक संगठनको जिम्मेवारी हस्तान्तरण गर्न नदिएर अपमानपूर्वक निकालेको भन्दै उनले आक्रोश पोखेकी छिन् । ‘अपानी सुधार्नका निमित्त अपिल गर्दै छु । सचिवालय बैठकमा मेरो असहमति पठाएको थिएँ, त्यो कहाँ गयो ? कहाँ छलफल भयो ? अब त्यो विषय केन्द्रीय कमिटी बैठकमा छलफल हुनुपर्छ,’ लामाले भनिन् । नेतृत्वको कार्यशैलीकै कारण आज निराश हुनुपरेको लामाको गुनासो छ । 

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले लामालाई बैठकस्थलबाट बाहिर निकालिएको प्रचार झुटो भएको बताए । ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्यो भन्ने प्रचारमा कुनै सत्यता छैन,’ उनले भने ।

उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले बैठकमा बहस हुनु र सामान्य चर्काचर्की हुनुलाई अन्यथा लिन नहुने बताए । ‘धेरै माया गरेका साथीहरूले वेलावेला चर्का कुरा गर्नुहुन्छ । बैठकमा चर्काचर्की पनि पर्छ । त्यसको निकास पनि निस्कन्छ । बैठकले सबै दस्ताबेज पारित गरेको छ । समस्या देखिएका विषय सचिवालयले समाधान गर्ने निर्णय भएको छ,’ उनले भने । 

अध्यक्ष नेपालले अपानिमार्फत अनेरास्ववियू र युवा संघको नेतृत्व हटाएपछि एकीकृत समाजवादीमा विवाद छ । सम्मानित नेता खनालले अपानिबाट जिम्मेवारी मुक्त गर्ने विषय गम्भीर भएको भन्दै सच्याएर जानुपर्नेमा जोड दिएका थिए । 

बैठकको समापन गर्दै अध्यक्ष नेपालले अनेरास्ववियू र युवा संघका अध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि विद्यार्थी र युवाको जिम्मेवारीबाट मुक्त गरेको दाबी गरेका छन् । 

सुझावित समाचार