संखुवासभामा जिल्लास्तरीय आर्चरी प्रतियोगिता सुरु

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो जिल्लास्तरीय खुला आर्चरी (तीर/धनुवाण/दची हान्ने) प्रतियोगिता सुरु भएको छ। शुक्रबार एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका कार्यवाहक मेयर तथा खाँदबारी– ७ का वडाध्यक्ष देवबहादुर पुँवार मगरले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित २१५२औँ ग्याल्पो ल्होसारको अवसरमा आर्चरी संघ संखुवासभाले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो। यो प्रतियोगिता ल्होसारको अवसरमा बर्सेनि आयोजना गर्ने गरेको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले जानकारी दिए। प्रतियोगिता नयाँजस्तो लागे पनि भोटे जातिको परम्परागत खेल भएको बताउँदै उनले संस्कृति संरक्षण गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजाना गरिएको बताए।

तीनदिने जिल्लास्तरीय प्रतियोगितामा जिल्लाका नाै टिमले सहभागिता जनाएका संघका सचिव मिक्मातेम्बा लामाले बताए। जसमा बौद्धमार्गी समाज मानेभञ्ज्याङ (बी), बौद्धमार्गी समाज मानेभञ्ज्याङ (ए), भोटखोला आर्चरी संघ छिघुलुङ, नामुछयी, भोटखोला कल्याण समाज खाँदबारी, ज्यवस्यारी ङाप्ताक छिघुलुङ, पिबु, किमाथांका र खाँदबारी भोटिया सेवा समाज रहेका छन्।

प्रतियोगिताको विजेताले एक लाख पाँच हजार ९९९ रुपैयाँ, उपविजेताले ५५ हजार ९९९ रुपैयाँ, तेस्रो हुनेले ३५ हजार ९९९ रुपैयाँ र चौथो हुनेले २० हजार ९९९ रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी, व्यक्तिगत उत्कृष्ट, बढी अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा र ज्येष्ठ खेलाडीहरूले पनि पाँच हजार एक सय रुपैयाँ पाउनेछन्।

प्रतियोगिता सञ्चालन गर्न कर्माज्यामु भोटे फाउन्डेसनको मुख्य प्रायोजन रहेको आयोजकले जनाएको छ। प्रतियोगिता खाँदबारी– ७ मा रहेको खाँदबारी रंगशालामा सञ्चालन भइरहेको छ। शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार समापन हुनेछ।

See More On

सुझावित समाचार