ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले ‘सिरिजंघा महोत्सव–२०८२’ आगामी १३ देखि १५ वैशाखसम्म आयोजना गर्ने भएको छ । सिरिजंघा गाउँपालिकाले जलवायु परिवर्तनको अध्ययन अनुसन्धान गर्नसमेत यो महोत्सवको आयोजना गरेको हो । विज्ञ टोली ल्याएर जलवायु परिवर्तन अध्ययन गरिने गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताए । साथै, कञ्जनजंघा क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्ने, पदयात्राका लागि आह्वान गर्ने, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिकसहितका कार्यक्रम पनि रहेको डा. माबोले जानकारी दिए ।
महोत्सवकै अवसर पारी म्याराथन प्रतियोगिता सञ्चालन हुनेछ । म्याराथन प्रतियोगिताका विजेतालाई दुई लाख आठ हजार पाँच सय ८६ रुपैयाँ, दोस्रो हुनेलाई एक लाख आठ हजार पाँच सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार पाँच सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिनेसमेत डा. माबोले बताए । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको उचाइलाई आधार मानेर नै अन्तिम पुरस्कार राशि पनि आठ हजार पाँच सय ८६ बनाएको समेत डा. माबोले जानकारी दिए ।