कोशी प्रदेश प्रिमियर लिग उपाधि गाईघाटले जितेको छ । धरान रंगशालामा बिहीबार पाँचथरलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले उपाधि जितेको हो । च्याम्पियन भएसँगै गाईघाटले राष्ट्रिय लिगको छनोट प्रतियोगिताका रूपमा रहेको अन्तरप्रदेश लिगमा स्थान बनाएको छ । दोस्रो स्थानमा रहँदै धनकुटाको देउराली युथ क्लब पनि अन्तरप्रदेश लिगमा छनोट भएको छ । कोशीका ११ जिल्लाका लिग च्याम्पियन क्लबबिच प्रतियोगिता भएको हो ।
उपाधि जित्न गाईघाटले सर्वाधिक ७ अंक हात पा¥यो । देउराली र खोटाङ ११ ले समान ४ अंक जोडेका थिए । गोलअन्तरमा देउराली दोस्रो भयो । बुइपा ११ तेस्रो स्थानमा सीमित भयो । देउरालीले उपविजेताको ट्रफी हात पार्न बुइपा ११ विरुद्ध पाँच गोल अन्तर राखेको छ । पाँचथर युनाइटेड क्लब १ अंकका साथ चौथो स्थानमा छ ।
उपाधि विजेता गाईघाटले दुई लाख र देउरालीले एक लाख ५० हजार रुपैयाँ पाए । तेस्रो भएको बुइपा ११ ले एक लाख २५ हजार र चौथो भएको पाँचथरले एक लाख हात पारेका छन् । गाईघाटका कप्तान युवराजले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार रुपैयाँ पाए । गाईघाटकै प्रवीण राई उत्कृष्ट स्ट्राइकर बने ।
घाईघाटका निम छिरिङ उत्कृष्ट गोलरक्षक र प्रशिक्षकमा गाईघाटकै किरणकुमार कार्की ठहरिए । बुइपा ११ का रामशूर राई उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरको उपाधि देउरालीका विपिन लिम्बूले जिते । उनीहरूले जनही १५ हजार रुपैयाँ पाए ।