जनयुद्ध र जनआन्दोलनका दुई सयभन्दा बढी स्रष्टालाई परिवर्तन गाउँपालिकाको सम्मान

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

रोल्पाको परिवर्तन गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा सांस्कृतिक क्षेत्रबाट योगदान गर्ने दुई सयभन्दा बढी स्रष्टालाई सम्मान गरेको छ। जनयुद्ध र जनआन्दोलनलाई सफल बनाउन योगदान गरेका ती सर्जक तथा स्रष्टाहरूलाई सम्मान गरिएको हो।

परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग तथा रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजना रहेको कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीमगरले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेकी थिइन्।

‘पुरानो एकात्मक व्यवस्था परिवर्तन गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान जनयुद्ध र जनआन्दोलनमा सहभागी स्रष्टाहरूको योगदान अमूल्य छ,’ गाउँपालिका अध्यक्ष सुकबहादुर बुढाले भने, ‘मुलुक संघीयतामा गइसकेपछि बनेको स्थानीय सरकारले संघीयता ल्याउन योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्नु आफ्नो कर्तव्य पनि भएकाले सम्मान गरेका हौँ।’

परिवर्तनका लागि लड्ने स्रष्टाहरूलाई अरू केही गर्न नसके पनि सम्मानस्वरूप सम्झना गरेको उनको भनाइ छ। गणतान्त्रिक योद्धाहरूलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको र गाउँपालिकाको यस प्रकारको योजना सबैका लागि सिकाइका रूपमा रहेको रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरले बताए।

कार्यक्रममा बोल्दै पूर्वसभामुख घर्तीमगरले १० वर्षे जनयुद्धकै कारण नेपालमा व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै रोल्पाली स्रष्टाहरूलाई राज्यले सधैँ यसरी नै सम्झिनुपर्ने बताइन्। जनयुद्धका समयमा निःस्वार्थ ढंगले आफ्ना छोराछोरीलाई टीका लगाएर युद्धमा पठाएको स्मरण गर्दै पूर्वसभामुख घर्तीले त्यस्ता आमाबुबाप्रति राज्य सधैँ कृतज्ञ रहँदै उनीहरूको पक्षमा नीति निर्माण गर्नुपर्नेमा जोड दिइन्।

जनयुद्धबाट प्राप्त फल खाएर जनयुद्धलाई दुस्प्रचार गर्ने अधिकार कसैलाई पनि नभएको प्रस्ट पार्दै उनले त्यस्ता कुतत्त्वबाट आजको परिवर्तनलाई जोगाउन परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताइन्।
 

सुझावित समाचार