मध्यपुर थिमिमा ज्येष्ठ नागरिक र गर्भवतीलाई वडाबाटै निःशुल्क स्वास्थ्य सेवा

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि निःशुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ। प्रत्येक वडाबाट महिनाको दुई दिन प्रवाह हुने गरी निःशुल्क स्वास्थ्य सेवा शुभारम्भ भएको हो।

बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बिमामार्फत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र गर्भवतीलाई  निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाएको बताए।

प्रत्येक वडामा महिनाको दुई दिन यस्तो सेवा प्रवाह हुने र यसका लागि नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिने उनले जानकारी दिए। ‘वडा स्वास्थ्य केन्द्रमा समेत आउन नसक्ने अशक्त तथा अपांगता भएकालाई घरमै पुगेर उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ,’ उनले भने।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्वास्थ्य जाँच र उपचारका लागि कष्ट गरी अस्पतालसम्म आउनुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नगरपालिकाले वडामै निःशुल्क स्वास्थ्य सेवा पुर्याउनुपरेको प्रस्ट पारे। यो कार्यक्रमले दीर्घरोगीलाई मात्र नभई रोग लाग्नुअगावै रोगको पहिचान गर्न पनि मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

नेपाल–कोरिया मैत्री नगर अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रौशनले यो कार्यक्रमले नगरवासीलाई सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए। ‘ज्येष्ठ नागरिकको टोलमै पुगेर स्वास्थ्य सेवा दिँदा सबैलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकिन्छ,’ उनले भने।

मध्यपुर थिमि नगरपालिकामा १० हजार ३५ जना ६० वर्ष उमेरमाथिको जनसंख्या रहेको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले बताए। स्वास्थ्य बिमा नगरेका सो उमेर समूहका ज्येष्ठ नागरिक र महिला स्वास्थ्यअन्तर्गत गर्भवती महिलाको नगरपालिकाले निःशुल्क बिमा गरिदिने पनि उनले जानकारी दिए।

सुझावित समाचार