सिरिजंघा महोत्सवमा जलवायु परिवर्तनबारे अध्ययन तथा अनुसन्धान गरिने

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आगामी वैशाख १३ देखि १५ गतेसम्म ‘सिरिजंघा महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले जलवायु परिवर्तनको अध्ययन अनुसन्धान गर्ने गरी महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

जलवायु परिवर्तन अध्ययनको लागि विज्ञ टोली ल्याइने गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताए। कञ्जनजंघा क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने, पदयात्राका लागि आह्वान गर्ने, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिकसहितका कार्यक्रम समेत आयोजना गर्ने डा.माबोले जानकारी दिए। 

सिरिजंघा गाउँपालिका वडा नम्बर ८ याम्फुदिनको करिब ३५०० मिटरको उचाइमा रहेको नयाँ झोरेनी भन्ने ठाउँमा महोत्सव आयोजना हुनेछ। महोत्सवमा समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता भने हुने छ। महोत्सवको अवसर पारेर उक्त म्याराथन प्रतियोगिता सञ्चालन हुने उपाध्यक्ष मावोले बताए। म्याराथनका विजेतालाई २ लाख ८ हजार ५८६ रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ८ हजार ५८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५८६ रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

कञ्चनजङ्घा हिमालको उचाइ ८ हजार ५८६ मिटर छ। सोही उचाइलाई आधार मानेर पुरस्कार राशिको अन्तिम अंक ८ हजार ५८६ रुपैयाँ बनाएको डा.माबोले जानकारी दिए। म्याराथन सँगै माउन्टेन साइक्लिङसमेत सञ्चालन गर्ने पालिकाको तयारी रहेको कार्यकारी अधिकृत डम्बरबहादुर आङ्देम्वेले जानकारी दिए।

उता, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको ७० वर्ष पुगेको अवसरमा कञ्चनजंघा संरक्षण परिषद्ले आगामी बैशाख ५ गतेदेखि ७ गतेसम्म कञ्चनजंघा हिरक महोत्सवको तयारीसमेत तिव्र पारेको छ।

सुझावित समाचार