लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

फाइल तस्बिर

लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको पाँचौँ (हिउँदे) अधिवेशन अन्त्य गरेका छन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभामा सूचना पठाएको हो।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३)अनुसार प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। पुस १६ गतेदेखि सुरु भएको यो अधिवेशनमा ११ वटा बैठक बसेका थिए।

प्रदेश सभाका सचिव  पुनका अनुसार अधिवेशनले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ। यसैगरी, यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धी विधेयक पनि पुनः हुबहु पारित गरेको छ।

सुझावित समाचार