वडासचिवलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि सोमबार कुटपिट गरेका थिए। गुरुङलाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो।
वडाध्यक्ष गुरुङलाई १० दिन थुनामा राख्ने म्याद लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए।
वडाध्यक्ष कप भलिबल प्रतियोगिताको भुक्तानीको विषयलाई लिएर वडाध्यक्षले घाँटी न्याकेर उनलाई कुटपिट गरेका हुन्। कर्मचारी संगठनहरूले विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन्। कर्मचारीको दबाबपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको थियो। वडाध्यक्ष गुरुङले मिलापत्रका आगि आग्रह गरे पनि पीडित कर्मचारीले नमानेपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो।