प्रतिनिधिसभा सदस्य विन्ध्यवासिनी कंसाकारलाई ३ प्रश्न

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

नेपालमा जलनपछिको उपचार कति सहज छ ?
११ वर्षअघि म आफैँ जलनमा पर्दा र अहिलेको अवस्थाको तुलना गर्दा जलनपछिको उपचारका सन्दर्भमा थोरै मात्र सुधार भएको देखिन्छ । तर, हामीसित अहिले जेजस्ता उपकरण छन्, जति जनशक्ति यसमा संलग्न हुनुहुन्छ, त्यसैको अधिकतम उपयोग गरी उपचार सेवा दिन सकियो भने त्यसैलाई राम्रो मान्नुपर्ने अवस्था छ । यसमा क्रमिक रूपमा जेजति सुधार हुनुपर्ने थियो, विश्वमा विकसित जेजस्ता सुविधासम्पन्न उपकरणहरू आउनुपर्ने थियो, त्यसमा खासै काम हुन सकेको अवस्था छैन । 

जलनको उपचार सेवा उपलब्ध अस्पताल र यहाँका जनशक्तिको अवस्था के छ ?
नेपालमा अहिले वार्षिक रूपमा ६०–६५ हजार जलनबाट प्रभावितहरू देखिने गरेको तथ्यांक भेटिन्छ । तर, उपचारको हकमा यहाँ अत्यन्त सीमित अस्पताल छन्, ती पनि राजधानीभित्र मात्र छन् । भर्खरै मेयर र उपप्रधानमन्त्रीज्यू पोखरामा जलनमा पर्दा त्यहाँ उपचारको व्यवस्था नहुँदा उहाँहरूलाई हेलिकोप्टरमार्फत कीर्तिपुर ल्याउनुपर्यो । हामीले वर्षौंदेखि यस विषयमा आवाज उठाउँदै आएका छौँ । हामीले कम्तीमा पनि हरेक प्रादेशिक अस्पतालमा जलनका लागि बेड र आइसियूको व्यवस्था गरौँ, त्यहाँ उपलब्ध चिकित्सक र नर्सलाई नै जलनको उपचारका लागि ट्रेन्ड गरौँ, यसबाट कम्तीमा जलनपीडितले प्राथमिक उपचारसम्म पाउन सक्छन् भनेर आवाज उठाउँदै आएका छौँ । तर, सरकारबाट त्यसको समेत सुनुवाइ हुन सकेको छैन । 

देशका अन्य भागमा पनि जलनको उपचारसम्बन्धी सेवा विस्तार किन हुन सकिरहेको छैन ?
हाम्रो सरकारले जलनपीडितको समस्या अनुभव गर्न सकेकै छैन । उसले जलनको समस्यालाई ‘इग्नोर’ गरिरहेको छ । हो, सरकारसित बजेटको अभाव छ । तर, हरेक प्रदेशका प्रादेशिक अस्पतालमा जलनपीडितको उपचारको व्यवस्था मिलाउन पनि नसक्ने अवस्था भने छैन । 

सुझावित समाचार