प्रेरक प्रसंग : कर्ममाथि विश्वास

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

एकपटक कुनै एक साधु काम विशेषले नौलो गाउँमा पुगे । त्यहाँ उनका परिचित कोही थिएनन् । त्यसैले, रात्रिकालीन विश्रामका लागि उनी एक मन्दिरको धर्मशालामा पुगे । तर, धर्मशालाका अधिकारीले कुनै गाउँलेको सिफारिसविना उनले त्यहाँ बस्न नपाउने बताए । गाउँमा उनलाई चिन्ने कोही थिएनन् । त्यसैले सिफारिस ल्याउन सक्ने कुरै भएन ।

अर्को मन्दिरको धर्मशालामा पुग्दा पनि उही समस्या दोहोरियो । साधु संकटमा परे । रात छिप्पिँदै थियो । उनी बाटाको एक कुनामा उभिइरहेका थिए । एक अपरिचित मानिस त्यहाँ आइपुगे । साधुले उनीसित आफ्नो समस्या बताए । उनले भने– म तपाईंको समस्या बुझ्छु । तर, म तपाईंलाई कुनै सिफारिस दिन सक्दिनँ । किनकि, म यो गाउँको बदनाम चोर हुँ । तर, तपाईं चाहनुहुन्छ भने मेरो घरमा बस्न सक्नुहुन्छ । 

साधु असमञ्जसमा परे । चोरकहाँ बस्दा कसैले थाहा पाए भने के सोच्लान् ? तर, अर्को उपाय पनि थिएन । त्यसैले, बाध्यतावश उनी चोरकहाँ बस्न तयार भए । उनलाई आफ्नो घरमा खानपिन र बसोवासको व्यवस्था मिलाएर चोर चोरीका लागि निस्किए । भोलिपल्ट बिहान मात्र उनी घर फर्किए । उनी निकै खुसी देखिन्थे । उनेले भने– आज सफलता हात लागेन । केही छैन, भोलि अवश्यै सफल हुनेछु । 

चोर भए पनि उनको व्यवहार राम्रो देखिन्थ्यो । उनी कहिल्यै दुःखी देखिन्नथे । त्यसैले, आफ्नो काम नसकिउन्जेल साधु त्यहीँ बसे । चोर हरेक दिन चोरी गर्न निस्किन्थे । भोलिपल्ट रित्तो हात फर्किन्थे । तर, कहिल्यै दुःखी देखिन्नथे । जहिल्यै भन्थे– आज सफल नभए पनि भोलि त पक्कै सफल हुन्छु । आखिर भनेजस्तै एक महिनापछि उनी साँच्चै ठुलै माल चोरी गर्न सफल भए । साधुले मनमनै भने– चोरी गर्नु गलत कर्म भए पनि मान्छेले आफ्नो कर्ममा विश्वास राख्ने हो भने एक न एक दिन सफल भइछाड्दो रहेछ ।

सुझावित समाचार