विमला चौधरीको निर्णायक गोलसँगै अन्तर्राष्ट्रिय फोर नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। जितसँगै नेपालले तीन अंक हासिल गरेको छ।
नेपालले खेलको दसाैँ मिनेटमै गोल गरेको थियो। विंगर विमला चौधरीले हेडर गोल गरेकी थिइन् । सविता रानामगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गर्दै सात हजार समर्थकलाई खुसी दिलाएकी थिइन्।
तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो। प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो । सावित्रासँगै सविता रानामगर, रेखा पौडेल र रश्मीकुमारी घिसिङले बारम्बार अवसर पाए पनि गोल गर्न चुके ।
अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा भएको हो । यसअघि सन् २०१९ मा नाजेद्दा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । किर्गिस्तानको पोस्टमा दीपा राई र निरू थापाले समान एक गोल थपे । दीपा र निरू वर्तमान टोलीमा छैनन् । दुवैले सन्न्यास लिइसकेका छन्।
प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा किर्गिस्तानविरुद्ध कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोस्टको जिम्मेवारी दिएका थिए। अञ्जिला यही प्रतियोगिता खेल्न ग्रिसको शीर्ष डिभिजन लिग छाडेर नेपाल आएकी हुन्।
डिफेन्डरमा गीता रानालाई निशा थोकर, पूजा राना र विमला विकले साथ दिएका थिए। निशाले पहिलोपटक राष्ट्रिय टिमको प्लेइङ सेटमै खेल्ने अवसर पाएकी हुन्। मिडफिल्डमा पूर्वकप्तान रेनुका नगरकोटेलाई प्रीति राई, सविता रानामगर र विमला चौधरीले साथ दिए। नेपालको अग्रपंक्तिको जिम्मेवारी लिगमा सर्वाधिक ३५ गोल गरेकी रश्मीकुमारी घिसिङ र युएईमा व्यावसायिक फुटबल खेलिरहेकी रेखा पौडेलले पाएका थिए।
फ्रान्समा व्यावसायिक फुटबल खेलेर बिहान मात्रै नेपाल ओर्लिएकी स्टार स्ट्राइरकर सावित्रा भण्डारीलाई बेन्चमा राखेका थिए।
खेलभर लेबनानले एक मात्रै मौका बनायो । खेलको ५५औँ मिनेटमा लेबनानले काउन्टरमा पाएको बललाई कप्तान अञ्जिलाले बक्सभित्रबाट क्लियर गरेकी थिइन् ।
खेलको २१औँ मिनेटमा नेपाल दोस्रो गोल गर्नबाट चुक्यो। सविताकै पासमा रश्मीले सिक्स यार्ड बक्समा पाएको बललाई प्रहार गर्न ढिला गर्दा किर्गिस्तानकी डिफेन्डरले क्लियर गरेर संकट टारेकी हुन् । खेलको २९औँ मिनेटमा रेखाले बक्सभित्रबाट हानेको प्रहार किर्गिस्तानकी गोलकिपर दिल्नुरा अविदुला किजीले नियन्त्रणमा लिएका थिइन्।
खेलको पहिलो हाफको इन्जुरी समयमा नेपाल लगातार गोल गर्नबाट चुक्यो। रश्मी र सविताले लगातार गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा नेपाल दोस्रो गोलबाट चुकेको थियो। लगत्तै रेखाले गरेको प्रहार लेबनानी डिफेन्डरले क्लियर गरेकी थिइन्।
८१औँ मिनेटमा किर्गिस्तानका डिफेन्डरले फुत्काएको बललाई सविताले बक्सभित्र भेटे पनि गोल गर्न सकिनन्। गोलकिपर बिट भएको अवस्थामा उनले गरेको प्रहार बाहिरिएको थियो।
फोर नेसन्समा सबैभन्दा बलियो म्यानमार हो। म्यानमार फिफा वरीयताको ५५औँ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन्।
आज नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै महत्त्वपूर्ण तीन अंक जोडेको छ। अब, नेपालले ८ फागुनमा लेबनानसँग खेल्दा म्यानमारले किर्गिस्तानसँग खेल्नेछ।