गभर्नर अधिकारीको रिट आज पनि ‘हेर्न नभ्याइने’

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज सोमबार पनि नहुने भएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र सुनीलकुमार पोखरेलको इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’ भएको हो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषद्ले  २४ चैत ०७८ मा पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए। निलम्बनपछि ५ वैशाखमा उनी सरकारविरुद्ध सर्वोच्च पुगेका थिए।

रिट दायर भएको भोलिपल्ट ६ वैशाखमै न्यायाधीश फुयाँलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सोही अल्पकालीन आदेशकै आधारमा गभर्नर पदमा रहेका अधिकारीको कार्यकाल सकिन डेढ महिना मात्रै बाँकी छ।

त्यस्तै, गत १२ पुस ०८० मा अधिकारीको गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने भन्दै उनीविरुद्ध सर्वोच्चमा अर्को रिट पर्यो। सर्वोच्चले सोमबार दुवै रिटमाथि संयुक्त रूपमा सुनुवाइ गर्न लागेकोमा पुनः ‘हेर्न नभ्याइने’ भएको हो ।

सुझावित समाचार