एनओसीको विवाद समाधान गर्ने जिम्मेवारी ओसिएलाई

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन विवाद समाधानको जिम्मा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)लाई दिएको छ । आइओसीले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसहित सदस्यलाई पत्राचार गर्दै विवाद समाधानको जिम्मेवारी ओसिएलाई सुम्पिएको जानकारी दिएको छ । गत साता चीनको हार्बिनमा आइओसी र ओसिएको बैठकमा एनओसी विवादबारे छलफल भएको थियो । आइओसीका निर्देशक जेम्स म्याकलियोडले एनओसीको विवाद समाधान गर्न ओसिएलाई निर्देशन दिएका हुन् । 

‘गत ४ फेब्रुअरीमा एनओसीका सबै सदस्यलाई हाम्रो पछिल्लो पत्रबारे जानकारी भएको हुनुपर्छ, नेपालको ओलम्पिक विवाद सुल्झाउन ओसिएलाई जिम्मेवारी दिइएको छ,’ जेम्सले भनेका छन् । आइओसीको चार्टर्ड तथा ओलम्पिकको खेल भावनाअनुसार नेपालमा खेल र खेलाडीको विकास गर्न उनले सुझाव दिएका छन् । ‘विश्वभरि नै ओलम्पिक मुभमेन्ट भइरहेको छ, नेपाल पनि यसैअनुसार चलिरहेको छ, उनीहरूको भावनाअनुसार काम हुनुपर्छ,’ पत्रमा लेखिएको छ, ‘ओसिएलाई नै सम्पूर्ण जिम्मेवारी दिने निर्णय भएको छ ।’

चीनको हार्बिनमा भएको बैठकमा नेपालबाट एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले सहभागिता जनाएका थिए । बैठकमा अध्यक्ष श्रेष्ठले एनओसीको विवादबारे आइओसी र ओसिएका पदाधिकारीलाई जानकारी दिएका थिए । आइओसी र ओसिएले यसअघि संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अदालतमा एनओसीको मुद्दा विचाराधीन रहेकाले आफूहरूले निर्णय नगरेको बताएका थिए । 

सर्वोच्च अदालत र सरकारको निर्देशनविपरीत गत १३ पुसमा अनलाइन भोटिङमार्फत भएको निर्वाचनमा जीवनराम लगातार तेस्रोपटकका लागि अध्यक्षमा निर्वाचित भएका थिए । एनओसीको यस नयाँ कार्यसमितिलाई नेपाल सरकार, आइओसी र ओसिएले मान्यता नदिएको अवस्था छ । 

सुझावित समाचार