भ्रष्टाचारले नेपाल बदनाम हुँदै गएको छ : कोइराला

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

कांग्रेसका नेता शेखर कोइरालाले बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । 

मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आइतबार उद्घाटन गर्दै सांसद कोइरालाले कमजोर आर्थिक अवस्था र भ्रष्टाचारले गर्दा नेपाल अन्तर्राष्टियस्तरमा बदनाम हुँदै गएको बताएका हुन् । 

नेता कोइरालाले अन्तराष्ट्रिय क्षेत्रमा गएको सम्बन्धित विभिन्न विषयका नकारात्मक  रिपोर्टका कारण देश अफ्ठ्यारोमा पार्न थालेको बताए । उनले भने, ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । एकातिर परनिर्भरता बढ्दै जान थालेको छ भने अर्कोतिर ट्रान्सपरेन्सी इन्टरनेसनल, सिपिआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाइरहेको छ । ’

कोइरालाले देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको र  विकास निर्माणले पनि गति लिन नसकेको बताए । कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले पाँच सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए । उनले बुढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए। बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए ।  

बुढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा आकस्मिक र ओपिडी सेवा रहेको छ । १० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको पालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिए । 
 

सुझावित समाचार