लोपोन्मुख कला र संस्कृतिको संरक्षण गर्दै ठाकुरबाबा

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा रहेको ठाकुरबाबा नगरपालिकाले मगरहरूको हराउँदै गएको परम्परागत लोक नृत्य मारुनीको संरक्षणका लागि मारुनी नृत्यको तालिम दिएको छ। पालिकाले पालिकास्तरीय प्रज्ञा प्रतिष्ठानको गठन गरी परम्परागत लोक नृत्य मारुनीको संरक्षणका लागि  तालिम दिएको हो। पछिल्लो समयमा मगर जातिको परम्परागत भेषभूषा कला संस्कृति भाषा लोप हुँदै गएको छ।

पालिकाले लोपोन्मुख अवस्थामा रहेका र हराउँदै गएको कला, संस्कृतिक, भेषभुषा संरक्षणमा प्रर्वद्धन गर्ने उद्देश्यले पालिका प्रज्ञा प्रतिष्ठानमार्फत काम गर्दै आएको छ । पालिकाले सोही उद्देश्य पुरा गर्ने लक्ष्य राखेर मगर जातीमा लोकप्रीय रहेको मारुनी नृत्यको संरक्षण गर्न मगर संघसँग सहकार्य गरी १५ दिनको नृत्य तालिम समेत गराएको छ । 

मारुनी नृत्यका प्रशिक्षक सक बहादुर आलेले मारुनी नृत्यको संरक्षणका लागि नृत्य तालिम महत्वपूर्ण रहेको बताए । उनले भने, ‘तालिममा सहभागीहरूले नृत्य सिक्दा रुचि पूर्वक सिक्नुभयो भने तालिममा सिकेका नाचलाई समुदायमा पनि देखाउन थाल्नु भएको छ। लोप हुँदै गएको नृत्य संरक्षणमा पालिका खेलेको भूमिका महत्वपूर्ण छ ।’ कला संस्कृतिको संरक्षणका लागि  पालिकाले ठाकुरबाबा प्रज्ञा  प्रतिष्ठानमार्फत नृत्यको तालिम दिँदा हराउँदै गएको नृत्यको संरक्षण हुनेछ।

पालिकास्तरीय प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले पालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेर समुदायमा रहेको विभिन्न जातजातिको कला, संस्कृति, भाषा भेषभुषा संरक्षणका लागि काम गरेको छ। ‘बर्दिया ठाकुरबाबा नगरपालिकाले गरेको कामले यहाँको समुदायमा रहेको जातिगत विविधताको संरक्षण र प्रर्वद्धन गर्न मद्दत पुगेको छ’ उनले भने। 

पालिका नगरप्रमुख  तथा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक तिलकराम लम्सालले पालिकामा रहेको जातिगत विविधताको सुन्दर पक्षको प्रचारप्रसार गर्न र संरक्षण गर्नका लागि पालिकाले काम गर्ने बताए । उनले भने,‘ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्ज रहेको पालिका हो । यहाँ विदेशी तथा स्वदेशी पर्यटक आउने गर्छन् ।

निकुञ्ज घुम्न आउने पर्यटकलाई विभिन्न जातजातिमा रहेका  विविधता देखाउन सक्ने हो। यहाँको पयर्टन उद्योगमा टेवा पुग्ने भएकोले पनि भाषा ,कला संस्कृति संरक्षण गर्नु  पालिकाको दायित्व हो  । त्यसकारण पनि पालिकाले विभिन्न जातजातिको लोप हुदैँ गएको कला संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ ।’ प्रज्ञा प्रतिष्ठान गठन गरी कला संस्कृतिको संरक्षण र प्रर्वद्धनका काम गर्ने ठाकुरबाबा नगरपालिका पहिलो पालिका हो । 

सुझावित समाचार