विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब पोखरामा जारी २४औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन् ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार हुने फाइनल खेलमा उनीहरू उपाधिका प्रतिस्पर्धा गर्ने भएका हुन् । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङग्रेन प्रिमियम बासमती राइसको सहप्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत दुवै टोली इतिहास बनाउने उद्देश्यसहित मैदान उत्रँदै छन् ।
२४ संस्करणसम्म आइपुग्दा ६ पटक उपाधि हात पारेको पुलिसको यो ११ पटकको फाइनल यात्रा हो प्रतियोगितामा पहिलोपटक सहभागी ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधिनजिक पुगेको हो ।
पुलिससँगै मनाङमस्याङ्दी क्लबले हालसम्म समान ६–६ पटक प्रतियोगिताको उपाधि हात पारेका छन् । यस वर्ष मनाङ प्रतियोगितामा सहभागी भएन । शनिबार उपाधि हात पार्दै पुलिस सर्वाधिक सातपटक उपाधि आफ्नो नाममा लेखाएर सर्वाधिक उपाधि विजेता बन्ने र पाहुना टोली पहिलो सहभागितामै उपाधि हात पार्दै इतिहास उच्ने उद्देश्यसहित मैदान उत्रँदै छन् ।
यसअघि वाई पाएर सीधै क्वाटरफाइनल प्रवेश पाएको ब्ल्याक बुल्सले अर्को पाहुना टोली भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई क्वार्टरफाइनलमा ३–१ गोल अन्तरले र सेमिफाइनलमा पाँचपटकको विजेता थ्री स्टार क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।
फाइनलमा स्थान सुरक्षित गरेको पुलिसले यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वार्टरफाइनलमा पाहुना टोली बेलायतको बिग्रेड ब्वाइज क्लबलाई २–० र सेमिफाइनलमा ए डिभिजन लिग विजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको थियो ।
फाइनल खेललाई लिएर शुक्रबार आयोजकले गरेको प्रि.म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गर्दै आफूहरू फाइनलका लागि तयार भएको बताएका थिए ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले उपाधिका लागि आफूहरू तयार रहेको बताए । टोलीमा उपाधि जित्ने विश्वास रहेको र यस्का लागि शारीरिक र मानसिक रूपमा तयारसमेत रहेको बताए ।
विपक्षी टोलीको टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो रहेको भए पनि आफ्नो टोलीमा योङ र नयाँ खेलाडीहरूसँगै उनीहरूमा आत्मविश्वाससमेत बढी भएको, यसअघिका तीन खेलमा समेत राम्रो प्रदर्शन गरेकाले उपधिका लागि सहज हुने बताए । खेलको रणनीतिबारे उनले केही बताएनन् । कप्तान राम बाजीले विपक्षी टोली राम्रो रहेकाले जितका लागि कडा मिहिनेत आवश्यक रहेको र टोलीमा युवा जोस भएका खेलाडीहरू रहेकाले उपाधिका लागि तयार रहेको बताए ।
ब्ल्याक बुल्सका प्रशिक्षक अबदुलाजिज निसअनवेइभल आफूहरूको भन्दा पुलिसकाे खेल केही फास्ट रहेकाले कसले जित्लाभन्दा पनि खेल ५०–५० हुने र जसले बढी मिहिनेत गर्छ उसैले उपाधि जित्ने बताए । हामीले दोस्रो खेलमा सुधारसँगै भएका कमी–कमजाेरीसमेत सुधार गर्दै आएका छौँ, शनिबारको खेलमा समेत राम्रो गरेर उपाधि उचाल्छौँ । कप्तान जाखिनागिर अख्मादोभले फाइनलको खेलका लागि आफूहरू तयार रहेको र उपाधिका लागि सकेको मिहिनेत गर्ने बताए ।
पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले २५ हजार नगदसँगै टफ्री पुरस्कार पाउँदा फेयर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।