गुरुकुल एजुकेसनल फाउन्डेसनले गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारीकाे नाममा युवा साहित्य पुरस्कार घाेषणा गरेकाे छ। उनका नाममा घाेषणा गरिएकाे ‘क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि फाउन्डेसनले कवितासंग्रह आह्वानसमेत गरेको छ।
नेपाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा हुन गइरहेको यस पुरस्कारका लागि इच्छुक युवा कविहरूले आफ्ना प्रकाशित कवितासंग्रहहरू पठाउन सक्नेछन्। कवितासंग्रह ०८० फागुन १ देखि २०८१ फागुन १ भित्र प्रकाशित भएकाे हुनुपर्ने आयोजकले जनाएको छ। संग्रह प्रकाशन हुँदा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।
कवितासंग्रह नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। आइएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट प्रकाशित वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कवितासंग्रह प्रतिस्पर्धाका लागि योग्य रहनेछन्।
प्रतियोगितामा सहभागिताका लागि तीन प्रति कवितासंग्रह र एक प्रति नागरिकताको प्रतिलिपि फागुन १५ भित्र नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाट, ललितपुरको ठेगानामा कुरियर गर्नुपर्नेछ। विजेताले ५० हजार रुपैयाँ पाउनेछन्। थप जानकारीका लागि ९८६०९९३७४२ र ९८४५५०९४७६ मा सम्पर्क गर्न आयोजकले जनाएको छ।