लिगकी उत्कृष्ट गोलरक्षक सावित्री राष्ट्रिय टोलीबाट बाहिर

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय महिला लिगमा १० क्लिन सिट राखी उत्कृष्ट गोलरक्षक बनेकी सावित्री किसन राष्ट्रिय महिला टोलीमा अट्न सकिनन्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार राष्ट्रिय महिला लिगमा उत्कृष्ट गोलरक्षक घोषित भएकी सावित्री किसनलाई बाहिर राख्दै टोली घोषणा गरेको छ । दशरथ रंगशालामा ५ फागुनदेखि हुने फोर नेसन्स च्याम्पियनसिपका लागि एन्फाले अन्तिम टोली घोषणा गरेको हो । तर, एन्फाले दुई साताअघि सकिएको राष्ट्रिय लिगकै उत्कृष्ट गोलरक्षक सावित्रालाई टोलीमा स्थान दिन सकेन । 

फोर नेसन्समा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तान छन् । १६ भदौदेखि १६ माघसम्म चलेको राष्ट्रिय लिगको ९१ खेलमा सावित्री उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । नेपालको यू–१९ टोलीबाट खेलिसकेकी उनले एपिएफ क्लबबाट पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएकी थिइन् । राष्ट्रिय लिगमा उनले सर्वाधिक १० क्लिन सिट राखिन् । एन्फाले यसपटकको महिला लिग सुर्खेत, काठमाडौं र ललितपुरमा गरी तीन चरणमा खेलाएको थियो । 

राष्ट्रिय टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा ग्रिसको लिग क्लब निस एट्रोमिटौमा अनुबन्ध भएपछि सावित्रीले एपिएफबाट अवसर पाएकी थिइन् । उनीबाहेक त्रिभुवन आर्मीकी अञ्जना रानामगर र नेपाल पुलिसकी उषा नाथले लिगमा औसत प्रदर्शन गरेका थिए । एक दशकदेखि अञ्जिला, अञ्जना र उषा नै टोलीमा छन् । 

राष्ट्रिय लिगमा गरेको प्रदर्शनका कारण सावित्री यसपटक राष्ट्रिय टोलीमा पर्ने सम्भावना थियो । तर, मुख्य प्रशिक्षक राजेन्द्र तामाङले तीनमध्ये कुनै एकलाई पनि बाहिर राख्ने मनसाय बनाएनन् । उनले सावित्रीलाई नै बाहिरि राखी अन्तिम खेलाडी तयार पारे । फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने प्रतियोगितामा नेपालले ५ फागुनमा किर्गिस्तानको सामना गर्नेछ । 

मनमाया र सुष्मा पहिलोपटक समेटिए
प्रशिक्षक तामाङले घाइते रहेका दीपा शाही र हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईं र सुष्मा तामाङलाई पहिलोपटक समेटेका छन् । टोलीमा पहिलोपटक एपिएफ क्लबकी रक्षक मनमाया र वालिङ नगरपालिकाबाट खेलेकी मिडफिल्डर सुष्माले पनि स्थान बनाए । त्यस्तै, स्ट्राइकर चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमालले वाफ च्याम्पियनसिपपछि कमब्याक गरेका छन् । वाफ टिममा रहेका चन्द्रा र सरस्वतीले भने टोलीमा स्थान बनाएनन् । साफमा घाइते भएका दीपा र हिराले स्थान बनाउन सकेनन् । अमिषा कार्की पनि सेनाको सहायक सेनानीको तालिममा रहँदा टिममा हुने छैनन् ।

दुई सेसनमा प्रशिक्षण
फोर नेसन्स च्याम्पिनसिपको तयारीका लागि एन्फाले खेलाडीलाई दैनिक दुई चरणमा प्रशिक्षणको व्यवस्था मिलाएको छ । खेलाडीले साँझमा फ्लड लाइट र बिहान टर्फमा प्रशिक्षण गरेका छन् । खेलाडीले चार महिनापछि अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा लागेका हुन् । गत कात्तिकमा दशरथ रंगशालामै भएको दक्षिण एसियाली महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । 

साफलगत्तै महिला राष्ट्रिय लिगमा खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण र अन्तिम स्थान बनाएका अधिकांश खेलाडीले लिगमा सहभागिता जनाएका थिए । मुख्य प्रशिक्षक तामाङले पनि राष्ट्रिय लिगमा खेलाडीको प्रदर्शनअनुसार बन्द प्रशिक्षणमा राखेका हुन् । लिग र बन्द प्रशिक्षणमा नियमित प्रशिक्षण भएका कारण नै खेलाडी फिट रहेको तामाङले बताए । 

महिला टोलीले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । एक दर्जनभन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा पुगे पनि महिला टोली उपविजेतामै सीमित छ । यसपटक पनि तामाङले उपाधि घरमै राख्ने योजना बनाएको बताए । ‘मेरो नजरमा यो नै सर्वोकृष्ट टोली हो, यसैले उपाधि जित्ने विश्वास छ,’ उनले भने, ‘खेलाडी पनि फिट छन्, आवश्यकताअनुसारै खेलाडी छनोट गरिएको हो ।’ 

वरीयतामा म्यानमारबाहेक अन्य सहभागी दुई राष्ट्र आयोजक नेपालभन्दा तल्लो स्थानमा छन् । फिफाको महिला वरीयतामा म्यानमार ५५औँ स्थानमा छ । म्यानमारले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । उसले आफूभन्दा माथिल्लो वरीयताका टोलीसँग प्रतिस्पर्धा गरेको छ । नेपालको चुनौती नै म्यानमार हुन सक्छ । म्यानमार नेपालभन्दा ४८औँ स्थान माथि रहेको छ । किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् । प्रतियोगितापछि नेपालको वरीयतामा सुधार हुने अपेक्षा छ ।

यो नै सर्वाेत्कृष्ट टोली हो : राजेन्द्र तामाङ, प्रशिक्षक
एक वर्षदेखि यही टोली हेरिरहेको छु । साफ च्याम्पियसिपमा दीपा शाही र हिराकुमारी भुजेल घाइते भएपछि जसरी पनि दुई नयाँ खेलाडी चाहिएको थियो । अमिषा कार्की पनि नहुँदा चारजना खेलाडी नयाँ लिनु थियो । मैले दुई नयाँसहित दुईजनालाई कमब्याक गराएको छु । सबै नयाँ ल्याउँदा बेन्चलाई गाह्रो हुने देखेँ । अहिलेको यो नै सर्वाेत्कृष्ट टोली हो ।

यस्तो छ टोली
मुख्य प्रशिक्षक तामाङले बन्द प्रशिक्षणबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गर्दा गोलरक्षक सुजता तामाङलाई बाहिर राखेका थिए । उनले २३ खेलाडीमा सिनियर गोलरक्षकहरू अञ्जिला, अञ्जना र उषालाई नै पहिलो प्राथमिकतामा राखेका छन् । डिफेन्डरमा अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया छन् । लिगमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी राइट ब्याक प्रतीक्षा चौधरी पनि टोलीबाट बाहिरिइन् । 

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल, विमला चौधरी र सुष्मा छन् । स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । 
 

सुझावित समाचार