स्थानीय तह कार्यसम्पादनमा भूमे गाउँपालिका जिल्लाभरमा पहिलो

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा भूमे गाउँपालिका जिल्लाभरमा उत्कृष्ट बनेको छ। विभिन्न १७ सूचकका आधारमा गरिएको मूल्यांकनमा भूमे गाउँपालिका जिल्लामा पहिलो बनेको हो। 

वित्त आयोगले आर्थिक वर्ष ०८०/८१ को स्थानीय तहको कार्य सम्पादन मूल्यांकन नतिजा ३० माघमा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार जिल्लाको तीन स्थानीय तहमध्ये भूमे गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ।

भूमे गाउँपालिकाले ७०.४ अंक ल्याएर पहिलो हुँदा सिस्ने गाउँपालिका ६६ अंक लिएर दोस्रो  भएको छ भने ५७.५ अंक पुथाउत्तरगंगा गाउँपालिका तृतीय भएको तथ्यांकमा उल्लेख छ।

कार्यसम्पादन मूल्यांकन नतिजा, भूगोल तथा  जनसंख्या, मानव विकासको अवस्थालगायतको अवस्थालाई आधार लिई आगामी आर्थिक वर्षको समानीकरण अनुदान तथा वित्तीय हस्तान्तरण गरिने प्रचलन छ। भूमे गाउँपालिकाले स्थानीय तहको बजेट व्यवस्थापन, राजस्व संकलन, सेवा प्रवाह र पारदर्शिताजस्ता सूचकहरू समावेश गर्दै उच्च अंक प्राप्त गर्दा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले अहोरात्र भूमेली जनतालाई सेवा दिने कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।
 

सुझावित समाचार