तनहुँको भिमाद नगरपालिकाले प्रभात एकेडेमी बोर्डिङ स्कुलका चार विद्यार्थीलाई तातो पन्युले गाला डामेर यातना दिएको घटना छानबिन गर्न समिति गठन गरेको छ। भिमाद नगरपालिकाले मंगलबार भएको घटनाको छानबिन गर्न बिहीबार तीन सदस्य छानबिन समिति गठन गरेको हो।
नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का अध्यक्ष पदमराज सेन ठकुरीका अनुसार पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्दीप पौडेलको संयोजकत्वमा तीनसदस्यीय समिति गठन भएको हो। समितिको सदस्यहरूमा सामाजिक विकास समितिबाट वडा नम्बर ३ का अध्यक्ष ठकुरी र प्रशासन शाखाका तर्फबाट प्रशासकीय अधिकृत सूर्यप्रसाद पौडेल सदस्य रहेका छन्। समितिले बिहीबारदेखि नै काम सुरु गरेको ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार समितिले घटनाको छानबिन गरी के कारणले भएको हो? दोषीमाथि के कारबाही गर्नेलगायतका विषय समेटेर प्रतिवेदन तयार गरी सुझाव दिनेछ।
भिमाद–६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी एवं विद्यालयका लेखापाल सुष्मा श्रेष्ठले चार कक्षामा अध्ययन गर्ने १० वर्ष उमेरका चार छात्रलाई मंगलबार पन्यु तताएर उनीहरूको गालामा डामेर यातना दिएका थिए। घटनापछि आरोपी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरी पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।