शंखरापुर दुर्घटनाका ४३ घाइतेमध्ये २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंको शंखरापुर नगरपालिका– ५ कात्तिकेस्थित सडकमा बा.२ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । 

उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका– ७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ३ घर भएका १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो । उनीहरू तीनैजना विद्यार्थी हुन् ।

 दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगन्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र सुशांको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगन्जमा, एकको हेल्पिङ ह्यान्ड अस्पताल चाबहिलमा र एकजनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराले जानकारी दिए । बसचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए । रासस

सुझावित समाचार