रारामा लक्जरी रिसोर्ट निर्माण सुरु

डेढ अर्ब लगानीमा ‘रारा रिसोर्ट’ सञ्चालन गरिने, रारा होल्डिङ्स र अस्ट्रेलियन एक्सपर्ट ग्रुपको साझेदारी

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

रिसोर्ट निर्माणमा स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरिने 

मुगुको सुन्दर पर्यटकीय थलो रारामा कर्णाली प्रदेशकै लक्जरी ‘रारा रिसोर्ट’ निर्माण थालनी भएको छ । बुधबार काठमाडौंमा एक समारोहबिच वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरीले रारामा निर्माण हुने रिसोर्ट शिलान्यास गरेका हुन् । 

मुर्माटपमा निर्माण हुने रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको रारा होल्डिङ्स प्रालिका अध्यक्ष अभिषेकविक्रम शाहले बताए । यो रिसोर्टमा रारा होल्डिङ्स र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त रूपमा डेढ अर्ब रुपैयाँ लगानी गर्नेछन् । १६ र १७ वैशाखमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा रारामा लक्जरी रिसोर्ट सञ्चालन गर्न दुई पक्षबिच सम्झौता भएको थियो । 

मन्त्री शाहीले यो रिसोर्ट निर्माणले राराको मात्र नभई समग्र देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘रारामा पर्यटकको सहज पहुँचका लागि सडक पक्की बनाउने, ताल्चा, जुम्ला र बाजुरा एयरपोर्टलाई स्तरोन्नति गर्नेजस्ता योजना बनाएका छौँ ।’ 

एक्सपर्ट ग्रुपका सिइओ सञ्जीव शर्माले कर्णाली प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्ने र समग्र देशको पर्यटन प्रवद्र्धनको उद्देश्यसहित रिसोर्ट निर्माण थालनी गरेको बताए । एनएसडब्लू अस्ट्रेलियाका लागि नेपाली कन्सुलरसमेत रहेका उनले भने, ‘अहिले वार्षिक ५० हजार पर्यटक रारा क्षेत्रमा पुग्छन्, हाम्रो उद्देश्य चार लाख पुर्‍याउने हो ।’ रारा पुग्ने पर्यटक बस्नका लागि स्तरीय होटेलहरू छैनन् । यो रिसोर्ट सञ्चालनमा आएपछि त्यो अभाव परिपूर्ति हुने उनको भनाइ छ । यस्तै, रारामा गुणस्तरीय पर्यटक भित्र्याउन पनि रिसोर्टले योगदान पुर्‍याउने उनले बताए । नेपालका लागि अस्ट्रेलियन राजदूत लिआन जोनस्टोनले रारा रिसोर्टमा गर्न लागिएको वैदेशिक (अस्ट्रेलियन) लगानी देशको समग्र पर्यटन विकासका लागि कोसेढुंगा बन्ने विश्वास व्यक्त गरिन् । यसले स्थानीय रोजगारी सिर्जनामा पनि टेवा पुर्‍याउने उनले बताइन् ।

मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्टमा एक अर्ब ५० करोड लगानी हुने रारा होल्डिङ्सका अध्यक्ष शाहले बताए । पर्यटकलाई तालको किनारबाट रिसोर्टसम्म लैजान दुई किलोमिटर दूरीमा ‘मोनोरेल’ निर्माण गरिने भएको छ । रिसोर्टमा पहिलो चरणमा १२ वटा भिल्ला तयार गरिनेछ, जहाँ एक स्विट, चार डिलक्स र ३५ स्ट्यान्डर्ड गरी ४० कोठा हुनेछन् । पछि २० कोठा थपेर ६० पुर्‍याउने योजना छ । रिसोर्टमा सयजना अटाउने रेस्टुरेन्ट हुनेछ । यस्तै, मिटिङ हल, साउन, स्टिम, जिमलगायत सुविधा पनि उपलब्ध हुनेछन् ।

रिसोर्टको बाह्य संरचना र आन्तरिक डिजाइनमा मुगुको स्थानीय संस्कृति झल्किनेछ । स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरिनेछ । माटोले लिपेका भित्ता र काठको संयोजनले पर्यटकलाई मुगुको मौलिक पहिचान अनुभव गराउनेछ । ‘न्यूनतम मूल्यमा उत्कृष्ट आतिथ्य सत्कार दिने योजना छ’ शाहले भने, ‘यो रारा क्षेत्रकै पहिलो पाँचतारेस्तरको रिसोर्ट हुनेछ, जसले रारा पुग्ने पर्यटकलाई स्तरीय सेवा दिनेछ ।’

३७ सय मिटर उचाइमा रहने रिसोर्टबाट रारा तालसहित अद्वितीय प्रकृतिको मज्जा लिन सकिनेछ । भौगोलिक उचाइजस्तै रिसोर्टको सेवासत्कार पनि उच्चस्तरकै हुने शाहले बताए । अहिले रारा पुग्ने पर्यटकको एउटै गुनासो हुने गरेको छ, रारा जति राम्रो छ, त्यति राम्रो खाने–बस्ने सुविधा नहुँदा सास्ती खेप्नुपर्‍यो । यो रिसोर्ट सञ्चालनमा आएपछि रारा क्षेत्रमा लक्जरी रिसोर्टका अभावसमेत पूरा गर्नेछ । 

See More On

सुझावित समाचार