- रुस, चीन र अमेरिकाले मानकीय सीमा उल्लंघन गरे भने अन्तर्राष्ट्रिय अधिकारमा आधारित व्यवस्था संकटमा पर्न सक्छ
हालैका सातामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले पानामा नहर फिर्ता लिनुपर्ने, ग्रिनल्यान्डलाई नियन्त्रणमा लिनुपर्ने र क्यानडालाई ५१औँ राज्य बनाउनुपर्ने बताएका छन् । उनले गाजापट्टीलाई भूमध्यसागरतिरको ‘रिभिएरा’ (रमणीय तट) मा परिणत गर्ने प्रस्तावसमेत राखेका छन् । उनका यी भनाइले विस्तारवादी सोच झल्काउँछ, जुन उनले प्रशंसा गर्ने सी जिनपिङ र भ्लादिमिर पुटिनका विस्तारवादी नीतिसँग मेल खान्छ ।
पुटिनको नेतृत्वमा रुसले अलगाववादी क्षेत्रलाई समर्थन गरेको छ, जर्जिया र युक्रेनमा पूर्ण रूपमा अतिक्रमणकारी युद्ध लडेको छ । त्यसैगरी यसले सिरिया र अफ्रिकाका विभिन्न देशमा हस्तक्षेप गरेको छ । सन् २०२२ मा रुसले युक्रेनमा व्यापक आक्रमण एवं अतिक्रमण गर्यो । त्यस क्रममा युक्रेन ऐतिहासिक रूपमा रुससँग अविभाज्य तर पश्चिमी प्रभावले विभाजित भएको दाबी उसले गरेको थियो । उता चीनले साउथ चाइना सीका टापुमा सैन्यीकरण गर्दै २७ वटा सैन्य संरचना निर्माण गरेको छ । यी टापुमा भियतनाम, ताइबान, फिलिपिन्स र मलेसियालगायत देशले पनि दाबी गर्दै आएका छन् । त्यसैगरी बेइजिङले ताइबानलाई चीनको अविभाज्य हिस्सा भन्दै ‘घर फर्किनुपर्ने’ दाबी कायम राखेको छ ।
साम्राज्य र राष्ट्र राज्य : धेरैले साम्राज्यवादको युग समाप्त भएको ठानेका छन् । तर, इतिहासले फरक चित्र देखाउँछ । शताब्दीयौँसम्म साम्राज्य हाबी रहे, जबकि राष्ट्र–राज्य १८औँ शताब्दीको अन्त्यतिर मात्रै देखा परेका थिए । यी साम्राज्यमध्ये धेरैले विस्तारवादी सोच अपनाएका थिए । बेलायतबाट स्वतन्त्र भएपछि अमेरिका छिट्टै पश्चिमतर्फ विस्तार गर्दै गयो । यसले युद्ध जितेर र व्यापारमार्फत विशाल भूभाग अधिग्रहण गर्यो, जसले अमेरिकालाई महादेशीय साम्राज्यमा परिणत गर्यो ।
यसैबिच इटली र जर्मनीजस्ता नवगठित राष्ट्र–राज्यले पनि बाह्य साम्राज्य हासिल गर्ने आकांक्षा राखेका थिए । यी मुलुकले अफ्रिकालगायत स्थानमा उपनिवेश निर्माण गर्न प्रयास गरे, यद्यपि ती धेरै टिकाउ भएनन् । त्यसैगरी परम्परागत साम्राज्यले राष्ट्र–राज्यको मोडेल अपनाउँदै बाध्यकारी सैन्य भर्ती, कानुनी समानता र राजनीतिक सहभागिताजस्ता तत्व समावेश गर्न थाले ।
दोस्रो विश्वयुद्धपछिका दशकलाई इतिहासकारले बेलायत र फ्रान्सजस्ता परम्परागत साम्राज्यवादी शक्तिद्वारा भएको उपनिवेशवादको अन्त्यको रूपमा हेर्छन् । तर, साम्राज्यबाट राष्ट्र–राज्यमा रूपान्तरण सहज थिएन । अधिकांश साम्राज्यवादी सरकारले आफ्ना साम्राज्यलाई समानतामूलक साझा राष्ट्रमा रूपान्तरण गर्दै केही प्रभाव कायम राख्न चाहन्थे । यो प्रक्रिया यी मुलुकले विभिन्न तहको सफलतासाथ पूरा गरेका थिए । र, कतिपय अवस्थामा यी मुलुकले कठोर दबाबमा सफलता हासिल गरेका थिए । उदाहरण फ्रान्सले अल्जेरिया र भियतनाममा तीव्र संघर्षको सामना गर्नुपर्यो, जबकि बेलायतले भारतमा गम्भीर आर्थिक दबाब व्यहोर्यो । वास्तविक राष्ट्र–राज्यको युग १९६० को दशकसम्म सुरु भएको थिएन ।
साम्राज्यको पुनरागमन भएको हो त ? : आज विश्वमा करिब दुई सय स्वतन्त्र देश छन् र धेरैजसो देश राष्ट्र–राज्य हुन् । तथापि, साम्राज्य वा कम्तीमा साम्राज्यवादी प्रवृत्ति पूर्ण रूपमा लुप्त भएको छैन भन्ने तर्क गर्न सकिन्छ । उदाहरणका लागि फ्रान्सले अफ्रिकाका पूर्वउपनिवेशमा बारम्बार हस्तक्षेप गर्यो, यद्यपि यी सैन्य कारबाही नयाँ भूभाग स्थायी रूपमा कब्जा गर्नका लागि थिएनन् । आज विश्वभरि साम्राज्यवादी प्रवृत्ति पुनः देखा परिरहेका छन् । यद्यपि इतिहास जस्ताको तस्तै दोहोरिँदैन । निकट भविष्यमा विशाल विजययुद्ध वा नयाँ समुद्रपार साम्राज्य निर्माण गर्ने प्रयास सम्भव देखिँदैनन् । हालका अधिकांश विस्तारवादी प्रयत्न छिमेकी क्षेत्रमा केन्द्रित छन् ।
चाखलाग्दो के छ भने पुटिन, सी र ट्रम्प सबैले आफ्ना साम्राज्यवादी योजनालाई उचित ठहर्याउन कठोर राष्ट्रवादी भाषा प्रयोग गर्छन् । उदाहरणका लागि पुटिनले युक्रेन र रुसको अविभाज्यता दाबी गर्दै ‘नाजी’लाई युक्रेनलाई पश्चिमपरस्त बनाउन प्रयास गरेको दोष लगाउँछन् । उनले यही तर्कलाई आधार बनाई फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेका थिए । यसैगरी सीले प्रायः साम्यवादी चीनले अन्ततः विदेशी शक्तिबाट भएको ‘अपमानको शताब्दी’ पार गरी आफ्नो हैसियत पुनः स्थापित गरेको छ । यी दुवैले विगतको साम्राज्यवादी महिमालाई पुनः प्राप्त गर्न चाहेजस्तो देखिन्छ । रुसले सोभियत संघको विघटन उल्ट्याउन खोजिरहेको छ भने साम्यवादी चीन छिङ साम्राज्यको गौरव फर्काउने प्रयासमा छ । रोचक के छ भने आफ्नो निरन्तर बढ्दो अधिनायकवादी प्रवृत्तिका साथ क्षेत्रीय शक्ति टर्कीका नेता रेसेप तैयप एर्दोगानले पनि साम्राज्यवादी झुकाव देखाउँदै ओटोमन साम्राज्यबाट प्रेरणा लिइरहेका छन् ।
अमेरिकाको स्थिति अलिक जटिल भए पनि चीन र रुसभन्दा भिन्न छैन । लामो समयदेखि अमेरिकाले व्यवस्थापन गरेको पानामा नहर ट्रम्पका अनुसार पूर्वराष्ट्रपति जिमी कार्टरद्वारा मूर्खतापूर्वक पानामालाई फिर्ता गरिएको थियो र अहिले यो चीनबाट नियन्त्रित भएको छ । उनी यो नहर अमेरिकामा फिर्ता आउनेछ भन्छन् । ट्रम्पले अमेरिकाको ‘म्यानिफेस्ट डेस्टिनी’को उल्लेख पनि गर्छन्, जसअनुसार १९औँ शताब्दीमा अमेरिकाका बासिन्दालाई प्रशान्त महासागरको तटसम्म फैलिन पाउनुपर्छ भन्ने विश्वास थियो । आजकाल उनका आकांक्षा पश्चिमको सट्टा उत्तरतर्फ केन्द्रित छन् । राष्ट्रपति मंगल ग्रहमा पनि अमेरिकी झन्डा गाड्न चाहन्छन्, जसले उनका साम्राज्यवादी सपना अन्तरिक्षमा पुर्याउँछन् । अमेरिका, चीन र रुसले मानकीय सीमा उल्लंघन गरे भने अन्तर्राष्ट्रिय अधिकारमा आधारित व्यवस्था संकटमा पर्न सक्छ । संकेत ठिक देखिँदैनन् । अवैध रूपमा भूभागलाई अंगीकार गर्ने कदमले सम्पूर्ण अन्तर्राष्ट्रिय संरचनालाई जोखिममा पार्न सक्छ ।
(स्टर्म लिइडेन विश्वविद्यालयका इतिहासका वरिष्ठ लेक्चरर हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट