छविलाई थुनामा पठाउने आदेशअगाडि अनौठो संयोग

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि कारागार पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशपूर्व अनौठो संयोग देखिएको छ । गोलाअनुसार जोशीको सुनुवाइ जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासमा परेको थियो। तर, गोला तान्ने समयमा घिमिरे काठमाडौंमै थिए । आफूले हेर्ने मुद्दा सम्बन्धित न्यायाधीशले गोला तानेपछि मात्रै थाहा हुन्छ । यसका लागि बिहान १० बजेपछि सबै न्यायाधीशले गोला तान्नुपर्छ ।

बिहान ९ बजे नै रुपन्देही जिल्ला अदालतमा आफैँ उपस्थित भएका जोशीलाई न्यायाधीश काठमाडौंमा रहेको र आउनेबित्तिकै बयान सुरु हुने बताइएको थियो । न्यायाधीश घिमिरे काठमाडौंबाट पुगेपछि (चिया समयपछि) जोशीको थुनछेक बयान, बहस र आदेश भयो । करिब तीन घण्टामा यी सबै काम सकाइयो । रवि लामिछानेको बहसका लागि जिल्लाका सबै सरकारी वकिल जम्मा भएका थिए । तर, छविको हकमा सरकारी वकिलहरूको ‘लाइन’ लागेन । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि ठहरेबमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश’ भएको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष रहेका जोशी मुद्दा चलेपछि सोमबार नै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसमा रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरे र प्रतिवादीतर्फबाट मनोजकुमार चौधरीलगायतले बहस गरेका थिए । यो मुद्दामा रास्वपा सभापति रवि लामिछाने एक करोड बैैंक ग्यारेन्टीमा रिहा भएका थिए ।  

सुझावित समाचार