विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद दिएको छ ।
कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा स्वास्थ्य मन्त्रालयलाई धन्यवाद दिएको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।
थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो । ‘आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो । यस कोषलाई विश्व स्वास्थ्य संगठनले आफ्नो क्षेत्रका सदस्य राष्ट्रका लागि पारदर्शी रूपमा व्यवस्थापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एसिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो । विज्ञप्तिमा कोषले १० राष्ट्रमा घटेका ४९ वटा आपत्कालीन अवस्थामा सहयोग गरेको उल्लेख गरिएको छ ।
नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो ।