राष्ट्रिय अर्जुन ट्रफी क्रिकेट प्रतियोगिताको उपाधिका लागि फ्रेन्ड्स क्लब डडेल्धुरा र सिआइसी अत्तरिया भिड्ने भएका छन् । फाप्ला मैदानमा आइतबार भएको दोस्रो सेमिफाइनलमा डिसिए धनगढीलाई ६ विकेटले हराउँदै अत्तरिया उपाधिनजिक पुगेको हो । पहिलो ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाएर १०८ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा अत्तरियाले १८ ओभरमा चार विकेटको क्षतिमा ११४ रन जोड्दै फाइनलमा स्थान बनायो । अत्तरियालाई फाइनल पुर्याउने क्रममा शंकर रानाले ५५ बलमा ५६ रनको योगदान दिए । उनले तीन चौका र चार छक्का प्रहार गरे ।
लक्ष्य पछ्याउँदा अत्तरियाको सुरुवात कमजोर भएको थियो । इनिङ्सको तेस्रो बलमै तृतराज दास शून्यमा आउट भए । १.२ ओभरमा सन्तोष कार्कीले विकेट गुमाए । इनिङ्सको ५.३ ओभरमा आक्रामक ब्याटर भीम सार्की १६ रनमा पेभेलियन फर्कंदा अत्तरिया ३०–३ को स्थितिमा थियो । त्यसपछि शंकरले चौथो विकेटका लागि दीपेश कँडेलसँग ७१ रनको साझेदारी गर्दै टोलीलाई जितनजिक पुर्याए । दीपेशले २५ बलमा २४ रन बनाउन दुई चौका प्रहार गरेका थिए । विवेक यादवले सात बलमा समान एक चौका र छक्का प्रहार गरी १२ रनको योगदान दिए । बलिङमा हिक्मत महराले १६ रन खर्चेर दुई विकेट लिए ।
धनगढीको मध्यम योगफल
टस जितेर ब्याटिङ गरेको धनगढीका कुनै पनि खेलाडीले गतिलो योगदान दिन सकेनन् । अत्तरियाका कप्तान कमल गुप्ता र विवेकले समान दुई विकेट लिँदा धनगढीको ब्याटिङ कमजोर बनेको हो । धनगढीका लागि मिलन बोहराले सर्वाधिक २८ रनको योगदान दिए । यसैगरी, अविशेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५ र राजु भण्डारीले १३ रन बनाए । धनगढीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चार खेलाडी शून्यमा आउट भए । अब अत्तरिया र डडेल्धुराबिच सोमबार फाइनल खेल हुनेछ । आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् ।
दीपेन्द्र सीधै अर्जुन ट्रफीमा
युएईमा चलिरहेको इन्टरनेसनल लिग टी–२० मा सहभागी नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्वदेश फर्किएलगत्तै अर्जुन ट्रफीमा प्रतिस्पर्धा गरे । गल्फ जायन्ट्सबाट अनुबन्ध भएका दीपेन्द्रसिंह ऐरीले एक खेल पनि खेल्न पाएनन् । उनी सम्मलित टोली समूह चरणबाटै बाहिरिएको थियो । अलराउन्डर कुशल मल्लको टिम डेजर्ट भाइपर्स भने लिग–२० को फाइनलमा पुगेको छ । कुशलले पनि एक खेल पनि खेलेका छैनन् ।
हरीशले जिते ५० हजार
प्रतियोगिताको सेमिफाइनलमा छक्का प्रहार भएको पहिलो बल नै क्याच लिएका बैतडी खोड्पेका हरीश भाटले ५० हजार रुपैयाँ जितेका छन् । पहिलो सेमिफाइनलमा कुनै क्याच थिएन । धनगढी र अत्तरियाबिचको दोस्रो सेमिफाइनलमा हरीशले पहिलो क्याच गरेका हुन् ।
उनी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न धनगढी आएका हुन् । ज्याभलिङ थ्रोका खेलाडी हरीश साथीहरूले क्रिकेट हेर्न जाउँ भनेपछि फाप्ला आएका थिए । ‘उडेर आएको बललाई पछाडि सरेर क्याच गर्न सफल भएँ,’ हरिशले भने । प्रतियोगिताको फाइनलमा छक्का प्रहार गरेको बल दर्शकले क्याच गरेमा एक लाख रुपैयाँ पुरस्कार दिइनेछ ।