सञ्चारकर्मी दीपक समीरद्वारा लिखित कथासंग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ लोकार्पण भएको छ ।
सामाजिक विकृति, विसंगति र प्रेमसँग सम्बन्धित कथालाई संग्रहित गरेर लेखिएको उक्त पुस्तक शनिबार सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान बल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समीरलगायतले संयुक्त रूपमा विमोचन गरे ।
लेखक समीरले आफूले विभिन्न समयमा लेखेका कथाहरूलाई संग्रहित गरेर पुस्तक तयार पारेको बताए । ‘विभिन्न समयमा सिर्जना गरेका कथाहरूलाई संग्रहित गरेर पुस्तकको रूप दिएको छु,’ उनले भने, ‘यसले समाजका विविध पक्षहरूलाई समेटेको छ।’
विमोचन कार्यक्रममा बोल्दै सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले सञ्चारकर्मसँगै लेखिएको पुस्तकमा रोचकता र विविधता रहेको बताए । इन्डिगो इन्कद्वारा प्रकाशित कथासंग्रहमा विभिन्न शीर्षकका १४ वटा कथाहरू समावेश छन् । लेखक समीरको ‘मुना-मदनको डिभाेर्स पार्टी’ कथासंग्रह पहिलो कृति हो।