नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कमैया मुक्ति कागजमा सीमित भएको बताएका छन्। थारूहरू माओवादी प्रवेश गर्न थालेपछि कागजमा कमैया मुक्ति घाेषणा भए पनि उनीहरूले अझै लालपुर्जा नपाएको भन्दै चौधरीले असन्तुष्टि व्यक्त गरे।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘थारू पनि माओवादी बन्न थालेपछि कमैया मुक्ति भयो । कागजमा मुक्ति भयाे, अन्त त कहाँ हुनु । जंगलमा बसेको झुपडीले अहिलेसम्म लालपुर्जा पाएको छैन ।’
तराईमा थारूहरूलाई जोत्ने खेत नहुँदा पहाडका जमिन बाँझो भएको उल्लेख गर्दै चौधरीले पहाडमा थारूलाई किन किसान स्विकार्न नहुने भन्दै प्रश्न गरे।
‘तराईमा जोत्ने खेत छैन । डाँडाकाँडा बाँझो भो । थारूले तराईमा बाबुराम पहाडिया स्विकार्न हुने, बाबुराम पहाडियाले थारूलाई पहाडमा किसान स्विकार्न नहुने ? यो कस्तो न्याय हो ? बाबुराम भट्टराईलाई पहाडिया मात्रै नभई समग्र नेपालीको प्रतिनिधिका रूपमा हेर्न चाहेको उल्लेख गर्दै उनले भने, ‘त्यो पहाडको बाँझो जमिनमा थारूले हलो जोतेको देख्न चाहन्छौं ।’
साथै चौधरीले सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई जोड्न एउटा गोलमेच सम्मेलन आयोजना गर्ने बताए।