कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नौ हजार ९६९ बाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका आठवटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रूपमा खोप लगाइएको हो ।
नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट १० हजार डोज खोप प्राप्त भएकामा नौ हजार ९६९ डोज खोप बाख्रालाई लगाइएको छ । ‘घातक संक्रामक रोग पिपिआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रापालन गरेका किसानले क्षति व्यहोर्दै आएका थिए,’ पशु शाखा प्रमुख भट्टले भने, ‘त्यसलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन गरेका हौँ ।’
यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा (र्याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ ।
एकपटक खोप लगाइसकेपछि तीन वर्षसम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीले बताए। सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पिपिआर खोप नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।