इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख प्राप्त गर्ने गरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेजपीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । ‘दुई दिनमा एक करोड बचतकर्तालाई फिर्ता गरियो,’ उनले भनिन् ।
गल्कोट र ढोरपाटनका ५ ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउने गरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहवरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मीना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्ने गरी सम्झौतासमेत गरिएको छ ।
गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन् । सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका छन्।
बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३४० बराबरको रकम मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत ५४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन् ।