सेमिफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ४६ रन बनाउनुका साथै सर्वाधिक पाँच विकेट लिए
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । शनिबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा फ्रेन्ड्सले न्यु होराइजन बुटवलमाथि ५ विकेटको जित हात पा¥यो । टस जितेर ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सबै विकेट गुमाउँदा ८३ रनको लक्ष्य थियो । प्रत्युत्तरमा फ्रेन्ड्स क्लब डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पूरा ग¥यो । अब, सिवाइसी अत्तरिया र डिसिए धनगढीबिच फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा हुनेछ ।
डडेल्धुराका लागि ओपनर भुर्तेलले ४६ रन बनाए । २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरेका हुन् । पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आयुष्मान बमसँग ५६ रनको अर्धशतकीय साझेदारी गरे । आयुष्मानले १६ रन बनाए । बुटवलका प्रिन्स पलले एक्लै तीन विकेट लिएका हुन् । यसअघि पहिलो इनिङ्समा बुटवलका लागि आरिफ खानले सर्वाधिक २० रन बनाए ।
त्यस्तै, दीपक डुम्रेले १८ र निश्चल ज्ञवालीले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शून्यमा आउट भए । बुटवलको ब्याटिङक्रम ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिएका हुन् । प्रतियोगितामा उनी ५ विकेट लिने तेस्रो खेलाडी हुन् । बुटवललाई कम रनमा समेट्ने क्रममा अजय चौहानले पनि तीन विकेट लिए । त्यस्तै, हेमन्त धामी र अशोक धामीले समान एक विकेट लिए ।
सिवाइसी समूह ‘बी’को विजेता र डिसिए समूह ‘ए’को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले डिसिएबाट सेमिफाइनल खेल्नेछन् । डिसिएमा दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, लोकेश बम, नारायण जोशीलगायतका खेलाडीहरू रहेका छन् ।
त्यस्तै, सिवाइसीमा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खानलगायतका खेलाडी रहेका छन् । प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।