तेस्रो जितका साथ अत्तरिया शीर्ष स्थानमा

अत्तरियाका विवेकले न्यु होराइजनविरुद्ध ब्याटिङमा ५१ रन तथा बलिङमा दुई विकेट लिए

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

सिवाइसी अत्तरियाले राष्ट्रिय अर्जुन ट्रफीमा लगातार तेस्रो जित निकाली समूह ‘बी’को शीर्ष स्थान बलियो बनाएको छ । प्रतियोगिताको सेमिफाइनल स्थान बनाइसकेको अत्तरियाले शुक्रबार धनगढीको फाप्ला रंगशालामा न्यु होराइजन बुटबललाई ७८ रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाएर १८८ रन बनाएको थियो । प्रत्युत्तरमा होराइजनले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो । 

समूह ‘बी’मा अत्तरियाले तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको होराइजनले तीन खेलमा एक जित र दुई हारका साथ दुई अंक जोडेको छ । बैतडी र काठमाडौंले तीन खेलबाट समान दुई अंक बटुलेका छन् । रनरेटमा होराइजन दोस्रो स्थानमा रहेको हो । 

पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि राष्ट्रिय खेलाडी भीम सार्की र विवेक यादवले आक्रामक इनिङ्स खेलेका थिए । दुवैले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । भीमले ३९ बलमा आठ चौकाको सहयोगमा ५८ रन जोडे । विवेकले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५१ रनको योगदान दिए । भीम इनिङ्सको १८.१ ओभरमा आउट भए । उनी पेभेलियन फर्कँदा अत्तरिया १६३–४ को बलियो अवस्थामा थियो । 

विवेकको अलराउन्ड प्रदर्शन
बुटवलको होराइजनले १८९ रनको लक्ष्य पछ्याउँदा गतिलो प्रदर्शन गर्न सकेन । कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ्स खेलेनन् । अर्कोतिर ब्याटिङमा आक्रामक खेल देखाएका विवेकले बलिङमा धारिलो प्रदर्शन गरे । उनले चार ओभरमा दुई विकेट लिन ३३ रन खर्चेका थिए । यद्यपि, उनले प्रतिओभर ८.२५ रन खर्चे पनि होराइजनका महत्वपूर्ण विकेट हात पारेका थिए । सो इनिङ्समा अत्तरियाका लागि रासिद खानले तीन ओभरमा २१ रन दिएर दुई विकेट लिए । सहाव आलमले १६ रनमा दुई विकेट हात पारे ।

ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका विवके म्यान अफ दी म्याच भए । होराइजनका लागि प्रतीक श्रेष्ठले २१ बलमा १८ रन बनाए । उनले एक छक्का प्रहार गरेका थिए । कप्तान तथा ओपनर दिलीप नाथले पाँच बलमा एक छक्काको सहयोगमा १० रन तथा निश्चल ज्ञवालीले १६ बलमा १२ रन बनाए । आरिफ खानले १० रन र तुलबहादुर थापाले १५ बलमा दुई चौका र एक छक्काको सहयोगमा १७ रन जोडे । होराइजनका ११औँ क्रमका खेलाडी वीर मगरले केवल सात बलमा समान एक चौका र छक्का प्रहार गरी १५ रन जोडे । 

See More On

सुझावित समाचार