नौ वर्षदेखि आयोजना हुँदै आएको अविवाहित र विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिस एन्ड मिसेस ब्युटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एन्ड मेकअप स्टुडियोको आयोजनामा प्रतियोगिताको छनोट प्रक्रिया १९ फागुनमा हुने भएको छ। छनोटस्थलको रूपमा काठमाडौं बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हल चयन गरेको आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए।
पाण्डेका अनुसार अडिसनमा सहभागीहरूबाट निर्णायकमण्डलले प्रतियोगिको छनोट गर्नेछ। प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए।
आयोजक तथा वरिष्ठ मेकअप आर्टिस्ट टेकराज पाण्डेका अनुसार प्रतियोगिताबाट छनोट भएका प्रतियोगीहरूलाई इन्द्रेणी सुइट होटेलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेसन क्लाससहित गतिविधिमा समेत सहभागी गराइनेछ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हास्य अभिनेता राजाराम पौडेलले यसखाले प्रतियोगिताले महिला सशक्तीकरणका क्षेत्रमा मद्दत मिल्ने बताए। गायक आनन्द कार्कीले महिलाको आन्तरिक विकासका लागि मिस एन्ड मिसेस ब्युटिफुल नेपाल बलियो प्लेटफर्म भएको चर्चा गरे। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले दुबै प्रतियोगिता सहभागीका लागि जीवनोपयोगी हुने बताए। मिसेस ब्युटिफुल नेपाल ०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव सेयर गरिन्। मिस ब्युटिफुल नेपाल ०२४ सजिना तामाङले यो प्रतियोगिता महिलाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताइन्।
प्रतियोगिताबाट शीर्ष उपाधिका साथमा विभिन्न उपाधि प्रदान गरिने आयोजक टेकराज पाण्डेले जानकारी गराए।