टेलिकममा सर्वसाधारणको सेयर २५ प्रतिशत पुर्‍याइने

१८ अर्बको कम्पनीमा अहिले सरकारको ९२ प्रतिशत स्वामित्व

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण
टेलिकममा सर्वसाधारणको सेयर २५ प्रतिशत पुर्‍याइने

नेपाल टेलिकमको २१औँ वार्षिकोत्सवमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ८ प्रतिशत रहेको सर्वसाधारणको सेयर स्वामित्व बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । तस्बिर : नयाँ पत्रिका

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपाल टेलिकमको सेयर संरचना परिवर्तन गरी सर्वसाधारणको उपस्थिति बढाउने घोषणा गरेका छन् । उनले चालू आर्थिक वर्ष ०८१/८२ मै टेलिकमको २५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा दिने बताएका हुन् । हाल टेलिकममा सरकारको ९२ र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व छ । 

मंगलबार नेपाल टेलिकम स्थापनाको २१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कार्यसम्पादन प्रभावकारी बनाउन पनि सर्वसाधारणको स्वामित्व बढाउनुपर्ने देखिएको बताए । ‘नेपाल टेलिकम सरकारी कम्पनी हो भन्नेबित्तिकै सर्वसाधारणमा यसको अपनत्व कम हुने देखिएको छ,’ उनले भने, ‘यसको कार्यसम्पादन प्रभावकारी बनाउन पनि सर्वसाधारणको स्वामित्व बढाउनुपर्ने देखिन्छ ।’ 

नेपाल स्टक एक्सचेन्जमा हाल टेलिकमको १८ करोड कित्ता सेयर सूचीकृत छ । मंगलबारसम्म टेलिकमको सेयर प्रतिकित्ता ९१० रुपैयाँमा किनबेच भएको थियो । टेलिकमको बजार पुँजीकरण एक खर्ब ६३ अर्ब ८० करोड रुपैयाँ कायम छ । टेलिकमको कुल चुक्ता पुँजी १८ अर्ब छ । 

आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड रुपैयाँ र खुद मुनाफा ६ अर्ब २३ करोड छ । चालू आर्थिक वर्षको ६ महिनामा टेलिकमले २० अर्ब १२ करोड आम्दानी गरेको थियो । 

नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानमध्येकै गौरवशाली इतिहास बोकेको संस्था भएको मन्त्री गुरुङले उल्लेख गरे । उनले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा सुधार गर्न आवश्यक रहेको बताए । उपभोक्ताको चाहनाअनुरूप सेवाहरूको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा फोरजी सेवा पुर्याउनुपर्ने उनको भनाइ थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समिति अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आमउपभोक्तालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्ने नेपाल टेलिकमको योगदानको प्रशंसा गरिन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको उल्लेख गरे । आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गरे । सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटवालले आमकर्मचारीको वृत्ति विकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्रह गरे । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराइन् । उनले कम्पनीले मुलुकका ७७वटै जिल्लामा फोरजी एलटिई प्रविधिमा आधारित मोबाइल र डेटा सेवा तथा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन् । उनले फोरजी डेटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डेटा खपतको ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी सेवाले ओगटेको बताइन् ।

ग्रामीण दूरसञ्चार विकास कोषमार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कहरूको सहप्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भिœयाउनेतर्फ प्राथमिकतासाथ कार्य भइरहेको समेत उनले बताइन् । साथसाथै, वार्षिकोत्सवको अवसरमा मंगलबारकै दिनदेखि भिओवाइफाई सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी गराइन् । 

नेपाल टेलिकम एप र वेबसाइटमार्फत इ–सिम सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकाले ग्राहकले अब इ–सिम लिनका लागि काउन्टरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको जानकारी पनि दिइन् । 

उनले कम्पनीले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिबी निवारण, उद्यमशीलता र खेलकुदका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । सोहीअन्तर्गत ०८१ सालको एसइई परीक्षामा सहभागी हुने विकट क्षेत्रका सामुदायिक विद्यालयका दुई लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशुल्क शिक्षा सेवा उपलब्ध गराउन सहयोग गरेको उनले जानकारी दिइन् । आगामी दिनमा देशका तीन अन्तर्राष्ट्रिय र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने र इ–लाइब्रेरी सेवा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ । 

See More On

सुझावित समाचार