आक्रामक ब्याट्सम्यान लोकेश बमको अर्धशतकको सहयोगमा मंगलबार अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिसिए धनगढीले बोस्टन क्रिकेट झापालाई पाँच रनले हराएको छ । जितसँगै धनगढीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । तीन खेलमा दुई जितसहित चार अंक जोडेको धनगढी समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । दुई खेलमा जित निकालेकोे सिवाइसी अत्तरिया चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ ।
यस समूहबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो भइसके पनि लिग चरणका खेलको नतिजामा भर पर्नेछ । समूह ‘ए’मा रहेको घोडाघोडी ११ ले दुई खेल, बोस्टन झापा र सिवाइसी अत्तरियाले समान एक खेल खेल्न बाँकी छन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४३ रन बनायो । ओपनर लोकेशले ३६ बलमा चार छक्का र ३ चौका प्रहार गर्दै ५७ रन जोडे ।
अन्तिम २ बलमा १२ रन
एक सय ४४ रनको लक्ष्य पछ्याएको इनिङ्स रोमाञ्चक बन्यो । झापाले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३७ रन मात्रै बनाउन सक्यो । इनिङ्सको अन्तिम ओभरको दुई बलमा झापालाई जितका लागि दुई बलमा १२ रन बनाउनुपर्ने थियो । झापाका कप्तान अभिनाश सिंहले भोजराज भट्टको ओभरमा छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बल भोजराजले डट फ्याँकेपछि धनगढी ५ रनले विजयी भयो । अर्को खेलमा न्यु होराइजन बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित ग¥यो ।