आहा रारा पोखरा गोल्डकप : पहिलो खेलबाटै बाहिरियो आयोजक सहारा

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

उज्ज्वल राईको एक मात्र गोलको सहयोगमा नेपाल पुलिस क्लबले मंगलबार आयोजक सहारा क्लब पोखरालाई १–० ले पराजित गर्दै २४औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा उज्ज्वलले खेलको ३६औँ मिनेटमा एक मात्र गोल गरेका थिए । उनकै गोलमा आयोजक सहारा स्तब्ध भयो । 

उज्ज्वलले कर्नरबाट आएको बललाई दोस्रो बारमा उत्कृष्ट गोल गरेका थिए । हारसँगै सहारा प्रतियोगिताबाट बाहिरिएको छ । अब पुलिसले २६ माघमा सेमिफाइनल प्रवेशको खेलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग खेल्नेछ । पुलिस र सहाराबिचको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो ।

सुरुमा पुलिसमाथि दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो । खेलको पाँचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए । खेलको १२औँ मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार विफल भयो । खेलको १७औँ मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिक हुँदै बाहिरिएको थियो ।

खेलको २१औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रिकिक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए । खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षक चौधरीले पन्च गर्दै रोके । प्रतियोगितामा बुधबार पूर्वविजेता एपिएफले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

डिफेन्डर सनिश सम्मानित 
प्रतियोगिताको उद्घाटनमा नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर सनिश श्रेष्ठलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिएको थियो । आयोजक क्लबले ०७४ सालदेखि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट एकजनालाई सम्मान गर्दै आइरहेको छ । यस वर्ष राष्ट्रिय टोलीसँगै मच्छिन्द्र क्लबका डिफेन्डर सनिशलाई ५० हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आयोजकले सम्मान गरेको हो ।

See More On

सुझावित समाचार