दिवंगत प्रस्तोतालाई सम्झँदै ‘पलेँटी’को पुनरागमन

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

कुनै समय आफ्नो मञ्चमा उपस्थित भई आधुनिक नेपाली संगीतको पुनर्जागरण गराएका दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि सुरु भएको छ । बितेको २० वर्षदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीहरूको साझा थलोका रूपमा चिनिँदै आएको यो कार्यक्रम कोभिडको महामारी कालयता बन्द भएको थियो । नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि एवं संगीतज्ञ आभासले संयोजन गर्दैआएका छन् ।

पलेँटीले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’मा शुक्रबार र शनिबार दिएको थियो जसमा ११ जना स्रष्टाका सिर्जना एवं गायनहरू समेटिएका थिए । त्यसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशमशेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापाका प्रस्तुति थिए । पलेँटीसँग आबद्ध कुल ५६ जना प्रस्तोतामध्ये उल्लिखित स्रष्टा एवं कलाकारको केही समययता निधन भइसकेको छ ।

‘कार्यक्रम तयार पार्नका निम्ति यी सबैले आफ्नो गीतमा प्रकट गरेका कुनै साझा बिम्बको खोजी गरेका थियौँ,’ आयोजक संस्था नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘उनीहरू सबैले फूललाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाएपछि श्रद्धाञ्जलीस्वरूप सबैमा फूलै अर्पित गर्दै यो कार्यक्रमको खाका उभ्याइयो ।’

गीति–नाटक, गीति–कथा हामीले हेर्दै र सुन्दै आए पनि कार्यक्रमलाई नौलो विधा ‘गीति–निबन्ध’ नामकरण गरिएको थियो, जसमा प्रस्तोता आभासले क्रमैसँग दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै उनीहरूका रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा गीत गाउने काम भने महिला स्वरमा पलेँटीभन्दा पनि कान्छो उमेरकी अभिज्ञा घिमिरे र पुरुष स्वरमा बेनुप छेत्रीले गरेका थिए । पुनरागमनका निम्ति नयाँ पुस्ताबाट पुनर्गठित पलेँटी टोलीमा बेनुप र अभिज्ञाबाहेक गितारमा कृपेश लोहनी, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुवेदी, तबलामा लक्ष्मीप्रसाद डंगोल र किबोर्डमा दिनेश रेग्मीको उपस्थिति देखिन्थ्यो । यो टोलीले सबैभन्दा पहिले रत्नशमशेरलाई सम्झेर ‘फूलै फूलको मौसम तिमीलाई’ प्रस्तुत गरेको थियो भने अन्तिममा राममान तृषितको ‘एक फूल झरेर के भो’ सुनाइएको थियो ।

प्रस्तोता टिम मात्र नभई पलेँटीले मञ्च पनि नयाँ पाएको छ । नेपालयसँगै जोडिएको भवनमा तयार पारिएको नयाँ ‘आरशाला’ले हलमा आधुनिकतासँगै दर्शकहरूको निम्ति बस्ने कुर्सीको व्यवस्था मिलाएको छ । यसरी कुर्सीमा बसेर कार्यक्रम अवलोकन गरे तापनि कार्यक्रमको नाम भने ‘पलेँटी’ नै यथावत् रहनेछ । 

‘कोभिडको महामारीले विश्वलाई नै आक्रान्त बनाएको वेला पलेँटी पनि त्यसको सिकार बन्न पुग्यो,’ कार्यक्रमका संयोजक आभास भन्छन्, ‘अब यसलाई थप नयाँ ऊर्जाका साथ निरन्तरता दिने भएका छौँ ।’

कार्यक्रमकै लागि आभासले भर्खरै दार्जिलिङलगायत पूर्वोत्तर भारतको भ्रमण गरेका थिए । त्यसैअनुसार अबको प्रस्तुति भने दार्जिलिङका संगीतकार चन्दन लम्जेल र गायिका डेजी बराइलीको हुनेछ जसमा यो दम्पतीकी गायिका छोरी विमोचना लम्जेलसहित सिंगो परिवारले एकसाथ आफूलाई प्रस्तुत गर्नेछन् । उनीहरूले गाउने गीत भने दार्जिलिङकै प्रतिभाशाली कवि नोर्देन रुम्बाका पछिल्लो समयका रचनाहरू हुनेछन् । दिवंगत रुम्बाले नै लेखेको र चन्दनले संगीतबद्ध गरेको गीत ‘मेरा सबै रात अब मातहरू भए’ नारायणगोपालले निकै अघि गाइसकेका छन् ।

पलेँटीको घोषणासँगै एकसाथ तीन महिनाको कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसअनुसार चन्दन र डेजीको परिवारपछि त्यसपछिको अर्को महिना मञ्चमा आधुनिक नेपाली संगीतकै प्रभावशाली गीतकार कालीप्रसाद रिजाल उपस्थित हुने भएका छन् । रिजालका नयाँ गीतहरूमा आभास स्वयंले सहकार्य गर्दै प्रस्तुति दिने योजना छ । साथै कालीप्रसाद रिजलको पलेँटीकै दिन आभासकै चयन तथा सम्पादनमा कालीप्रसाद रिजालका गीत तथा कविता समेटेर पुस्तक पनि प्रकाशन गरिनेछ । घोषणा भइसकेका यी आगामी पलेँटी कार्यक्रमहरूको टिकट बुकिङ पनि खुला भइसकेको छ ।

सुझावित समाचार