अर्जुन ट्रफी : धनगढी फराकिलो अन्तरले विजयी

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् । फाप्ला क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा सिवाइसीले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको हो । अत्तरियाको जितमा भीम सार्की र विवेक यादवले उत्कृष्ट प्रदर्शन गरे । अत्तरियाले पहिलो ब्याटिङ गर्दै तीन विकेट गुमाएर १६४ रनको योगफल बनायो । लक्ष्य पछ्याएको दशरथ चन्दले २० ओभरमा नौ विकेट गुमाएर १३८ रन जोड्यो । दशरथ चन्दका लागि हिमाल दुलियाले ३९ रन, वसन्त खत्रीले २३ र सुमित बडालले १८ रन बनाए ।

अत्तरियाका विवेक यादवले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २५ रन दिएर चार विकेट लिए । साहब आलम र कमल गुप्ताले समान दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि भीम सार्कीले ७० रनको नटआउट इनिङ्स खेले । उनले ३३ बलमा ६ चौका र चार छक्का प्रहार गरे । तृतराज दासले ३० रन र शंकर रानाले २५ रन बनाए । विवेक यादव १७ बलमा २५ रनमा अविजित रहे । 

धनगढीले घोडाघोडीलाई हरायो
दोस्रो खेलमा धनगढीले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । प्रत्युत्तरमा घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाटाले १३ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका राष्ट्रिय खेलाडी ललित राजवंशीले तीन विकेट लिए । उनी नै खेलका म्यान अफ दी म्याच पनि भए ।

धनगढीका राजु रिजालले २७ बलमा ३७ रन बनाए । त्यस्तै, लोकेश बमले ३१ रन, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले तीन तथा नरेन साउदले दुई विकेट लिए । प्रतियोगितामा आठ टोलीले भाग लिइरहेका छन् । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

सुझावित समाचार