कोदारी जंगलमा लागेकाे डढेलाे हेलिकाेप्टरबाट पानी खन्याएर नियन्त्रणकाे प्रयास

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

चीन र नेपालको सिमानामा पर्ने कोदारी जंगलमा दुई दिनदेखि लागेको आगो नियन्त्रणमा आउँदै छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाको निजी खर्चमा काठमाडौंबाट प्राइभेट हेलिकोप्टर ल्याई पानी खन्याएर डढेलो नियन्त्रणकाे प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरले भोटेकोशीबाट पानी ओसारेर अहिले डढेलो प्रभावित क्षेत्रमा पानी खन्याएको छ ।

लिपिङ बजारबाट माथि भिरको जंगलमा हिजोदेखि डढेलो लागेको र त्यसआसपासका अन्य जंगलमा पनि आगलागी हुन सक्ने भएकाले हेलिकोप्टर मगाइएको हो । डढेलो नियन्त्रणमा गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लागि परेका छन् ।

कोदारीमा लागेको डढेलो नेपालको सीमा कटेर चीनको जंगलमा समेत जान लागेकाले हेलिकोप्टर झिकाएर पानी खन्याइएको अध्यक्ष शेर्पाले बताए । ‘पूर्ण रूपमा डढेलो नियन्त्रणमा आउन समय लाग्छ,’ उनले भने ।

सीमावर्ती जंगलमा दिनहुँ डढेलो लागिरहेकाले सरकारी निकायलाई हैरानी परेको छ । आज दिउँसोभर हेलिकाेप्टरले पानी खन्याएपछि डढेलो पूर्ण रूपमा रोकिने विश्वास गाउँपालिकाले लिएको छ ।

See More On

सुझावित समाचार