एकपटक एक साधुको आश्रममा एक गृहस्थ व्यक्ति पुगे । उनी घर–गृहस्थीको झन्झटबाट निकै हैरान भएका थिए । उनले साधुसित भने– साधु महाराज, म यो घर गृहस्थीको झन्झटबाट वाक्कदिक्क भइसकेँ । पत्नीसित मेरो पटक्कै कुरा मिल्दैन । छोराले मेरो कुरै सुन्दैन । छोरीको पारा पनि उस्तै छ । दिनदिनकै यो झन्झट झेल्नुभन्दा हजुरजस्तै साधु भएर सन्यास धारण गर्नु आनन्ददायक हुन्छ जस्तो लाग्यो र म हजुरको आश्रममा आइरहेको छु । अब हजुर मलाई हजुरले लगाउनेजस्तै गेरुवस्त्र दिनुहोस् । म पनि त्यो वस्त्र लगाएर हजुरजस्तै साधु बनेर बाँकी जीवन आनन्दसित बिताउन चाहन्छु ।
गृहस्थको अनुरोध सुनेर साधु मुसुक्क मुस्कुराए । मन्द मुस्कानका साथ उनले भने– तपाईंको माग उचित हो । म पूरा गर्न तयार छु । तर, पहिले मेरो एउटा प्रश्नको जवाफ दिनुहोस् है ! के कुनै पुरुषको वस्त्र लगाएर कुनै स्त्री पुरुष बन्न सक्छिन् ? अनि के कुनै स्त्रीको वस्त्र लगाएर कुनै पुरुष स्त्री बन्न सक्छन् ? ती गृहस्थले जवाफ फर्काए– अहँ, यो सम्भव छैन । केवल एक–अर्काको वस्त्र लगाएकै भरमा कुनै पुरुष स्त्री र स्त्री पुरुष बन्न कसरी सम्भव हुन्छ ?
साधुले पुनः मन्द मुस्कानसाथ भने– ठिक भन्नुभयो तपाईंले । जसरी स्त्रीको वस्त्र लगाएर पुरुष स्त्री र पुरुषको वस्त्र लगाएर कुनै स्त्री पुरुष बन्न सम्भव छैन, ठिक त्यसैगरी एक साधुको वस्त्र लगाउँदैमा गृहस्थ साधु बन्न सक्दैन । त्यसका लागि सबैभन्दा पहिले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्छ । त्यसैले, पहिले आफ्नो स्वभाव परिवर्तन गर्नुहोस्, त्यसपछि तपाईंलाई आफ्नो गृहस्थ जीवन पनि प्यारो लाग्न थाल्छ ।