अल असदको पतनको डेढ महिनामा के–के बदलियो?

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

डिसेम्बरमा बसर अल असदलाई पदच्युत गरेदेखि देशमा वास्तविक शक्ति अभ्यास गर्दै आएका अहमद अल सारा बुधबार देशको अन्तरिम राष्ट्रपति घोषित भएका छन् । 

अल सारा अन्तरिम राष्ट्रपति
तत्कालीन राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको झन्डै दुई महिनापछि सिरियाले नयाँ राष्ट्रपति पाएको छ । पूर्वविद्रोही कमान्डर र पछिल्लो दुई महिना सिरियामा वास्तविक शीर्ष शक्ति अभ्यास गरिरहेका अहमद अल सारा संक्रमणकालीन अवधिका लागि राष्ट्रपति नियुक्त गरिएको सिरियाली राज्य मिडियाले जनाएका छन् । अन्तरिम राष्ट्रपतिका रूपमा अल साराको नियुक्तिसँगै सिरियाली सरकारले गर्ने गरेका कामको वैधानिक रूपमा जिम्मेवारी लिने नेताको स्पष्ट चित्र बाहिरिएकाले देशको अगाडिको बाटोले थप स्पष्टता पाएको विश्लेषकले औँल्याएका छन् । 

सिरियाली सरकारी समाचार एजेन्सी ‘सिरियन अरब न्युज एजेन्सी (साना)’ले बुधबार कमान्डर हसन अब्देल घानीलाई उद्धृत गर्दै आगामी आम चुनाव नभएसम्म अल सारा राष्ट्रपतिको रूपमा नियुक्त भएको समाचार लेखेको छ । अल सारालाई यसअघि नै संक्रमणकालीन अवधिका लागि अस्थायी व्यवस्थापिका परिषद् गठन गर्ने अधिकार पनि दिइसकिएको छ । उक्त विधायिकी परिषद्ले नयाँ संविधान पारित नभएसम्म काम गर्नेछ ।

को हुन् अहमद अल सारा ?
विद्रोहकालमा अबु मोहम्मद अल जुलानीको नामले परिचित अल सारा हाल विघटित ‘एचटिएस’का नेता थिए । सिरियाको सबैभन्दा शक्तिशाली सशस्त्र समूह रहेको एचटिएसले गत डिसेम्बरमा अल असदलाई पदच्युत गर्ने प्रत्याक्रमणको नेतृत्व गरेको थियो । एचटिएस पहिले अल कायदाको सहयोगी थियो । तर, पछिल्लो समय उसले आफ्ना अडान मत्थर गर्ने प्रयास गरेको छ । अल साराले आफूलाई र उनी नेतृत्वका सरकारलाई अल असदबाट मुक्त सिरियाको विश्वसनीय संरक्षकको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । वर्तमान सिरियाली अन्तरिम सरकारका अधिकांश शीर्ष पदमा हिजो एचटिएसले इदलिब प्रान्तमा शासन चलाउन अधिकारीलाई स्थान दिइएको छ । पछिल्लो समय अल साराले विदेशी नेताहरू र कूटनीतिज्ञको भेटघाटलाई तीव्र बनाइरहेका छन् ।  

चार वर्षभित्र चुनावको वाचा
सिरियामा संक्रमणकालीन अवधि कति लामो हुनेछ भन्ने हालसम्म कुनै स्पष्ट खाका प्रस्तुत गरिएको छैन । यसैले गर्दा त्यहाँ आमचुनाव गराउने सम्बन्धमा समयतालिकाको कुनै अत्तोपत्तो छैन । अल साराले यसअघि निर्वाचनबारे टिप्पणी गर्ने क्रममा उनको युद्धग्रस्त देशमा चुनाव गराउन कम्तीमा चार वर्ष लाग्न सक्ने बताएका थिए । डिसेम्बरमा साउदी अरेबियाली टिभी ‘अल अरेबिया’सँग कुरा गर्दै अल साराले देशको नयाँ संविधानको मस्यौदा तयार गर्न तीन वर्षसम्म लाग्न सक्ने र त्यसपछि मात्र चुनाव हुने बताएका थिए । उनले देशमा योग्य मतदाताको संख्या निर्दिष्ट गर्न नयाँ जनगणनासमेत गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । यी दुई कारणले गर्दा चार वर्षभित्र चुनाव हुने सम्भावना नरहेको उनको दाबी थियो । ‘कुनै पनि अर्थपूर्ण चुनावका लागि जनसंख्याको यकिन संख्या थाहा पाउनुपर्ने हुन्छ । यसका लागि जनगणना सञ्चालन गर्न आवश्यक हुनेछ,’ अल साराले भनेका थिए ।

राष्ट्रिय सेनासहित सम्पूर्ण सशस्त्र समूह भंग
सिरियामा हिजोको दिनमा अल असद सरकारविरुद्ध लडेका सबै सैन्य समूहलगायत सिरियाको राष्ट्रिय सेना र अन्य सुरक्षा निकाय यसअघि विघटित भएको घोषणा गरिएका छन् । एकीकृत राष्ट्रिय सैन्य बल गठन गर्न उठाइएको यस कदमअन्तर्गत अल साराको हयात तहरिर अल साम (एचटिए)’समेत भंग गरिएको छ । त्यसबाहेक नयाँ व्यवस्थासँगै देशको संविधान खारेजी भएको छ भने अल असद नेतृत्वमा रहेको बाथ पार्टीमाथि प्रतिबन्ध लागेको छ । बाथ पार्टीले अल असदको सरकार पतन हुनुअघि ६० वर्षभन्दा लामो समय देशमा शासन गरेको थियो । डिसेम्बर ८ मा अल असदलाई सत्ताबाट हटाउन अल साराको एचटिएस सँगसँगै लडेका सशस्त्र समूहका कमान्डरहरूको उपस्थितिमा दमास्कसमा भएको बैठकमा यी घोषणा आए । अल साराले विगतमा आफूसँग लडेका विद्रोही समूहका नेतालाई सरकारमा प्रतिनिधित्व गराउने कुरा विश्वस्त गराउन तिनका कमान्डरलाई हरेक निर्णयमा सहभागी गरेका छन् । कुनै पनि समयमा पूर्वविद्रोहीमाझ मतविभाजन आएर नयाँ द्वन्द्व आउन नदिन अल साराले तिनलाई नयाँ सिरियाको समेत हिस्सा बनाइने आश्वस्त पार्ने प्रयास गरिरहेजस्तो देखिन्छ ।

पश्चिमी प्रतिबन्ध केही खुकुलो 
यो साता युरोपेली संघका विदेशमन्त्रीहरूको ब्रसेल्समा बसेको बैठकमा सिरियामाथिको पश्चिमा प्रतिबन्धको विषयमा छलफल भएको थियो । फ्रान्सका विदेशमन्त्रीले दमास्कसलाई सहज बनाउन विगतमा संघले सो मुलुकमाथि लगाएको प्रतिबन्ध हटाइने बताएका छन् । संयुक्त राज्य अमेरिका र युरोपेली संघले सन् २०११ यता सिरियामाथि कैयौँ प्रतिबन्ध घोषणा गरे । ती प्रतिबन्ध विद्रोहीमाथिको क्रुर दमनमा उत्रिएको असद सरकारको पुँजी बजार र व्यापार राजस्वमाथिको पहुँच कटौती गर्ने उद्देश्यले लगाइएको पश्चिमको तर्क छ । पश्चिमी प्रतिबन्धहरूले सिरियाको औपचारिक अर्थतन्त्रलाई बाँकी संसारबाट लगभग अलग गरेको छ । 

अल–शारा र उनको सरकारले पश्चिमी नेताहरूको भेटमा पटक–पटक प्रतिबन्ध हटाइए मात्र सिरियाको भविष्य सहज हुने स्पष्टीकरण दिइरहेका छन् । यी प्रतिबन्धले सिरियाली समाजक सबै पक्षहरूमा प्रभाव पारिरहेका छन् । सिरियाको अर्थतन्त्र राम्ररी काम गर्न पनि यी प्रतिबन्ध हट्नुपर्ने बताइन्छ । तर, पश्चिमले भने वर्तमान सरकारका नेताको विगत अतिवादी भएकाले तिनको भावी कार्यशैली हेरेर मात्र प्रतिबन्ध पूर्ण फुकुवा गरिने बताएको छ । 

बाथ पार्टी प्रतिबन्धित, संविधान खारेज
अल अपदस्थ भएसँगै उनको शासनको सबै अवशेषलाई मेट्ने प्रयास भइरहेको छ । यस क्रममा उनको पालाको संविधान खारेज भइसकेको छ । त्यस्तै अल असद नेतृत्वको ‘अरब समाजवादी बाथ पार्टी’माथि प्रतिबन्ध लागेको छ । अरब राज्यलाई एउटै राष्ट्रका रूपमा एकताबद्ध गर्ने घोषित उद्देश्य बोकेको बाथ पार्टीलाई दुईजना सिरियाली अरब राष्ट्रवादीहरू मिसेल अफलाक र सलाह अल दिन अल बितारले स्थापित गरेका थिए । सन् १९४९ मा आफ्नो पहिलो विधान सार्वजनिक गरेको पार्टीले एक समय यस पार्टीले दुई वटा अरब देश इराक र सिरियामा शासन गरेको थियो ।

सिरियामा बाथ पार्टी सन् १९७० मा सत्तामा आयो । पछिल्लो समय यो पार्टी मुख्यतः अल असदको परिवारसँग अभिन्न रूपमा गाँसिने गरेको छ । दशकौँसम्म यस परिवारले देशमाथि शासन गर्न सो पार्टी र यसको अरब जोड्ने विचारधारालाई प्रयोग गर्यो । प्रायः अधिकांश शीर्ष सैन्य पदहरू अल असद परिवार र सो परिवार जोडिएको अलाविट सम्प्रदायका सदस्यले ओगटेका थिए । (‘अलाविट’ सिरियाको जनसंख्या १० प्रतिशत मात्र रहेको अल्पसंख्यक सिया धार्मिक सम्प्रदाय हो ।) तथापि बाथ पार्टीको सदस्यता भने साम्प्रदायिक रूपमा भन्दा अरब राष्ट्रवाद उछालेर सबैलाई दिइन्थ्यो । यही आवरणले अल्पसंख्या सम्प्रदायबाट आएको परिवारले दशकौँ सिरियालीमाथि शासन गर्यो ।  अल असदको सरकार ढलेपछि बाथ पार्टीका अधिकांश नेतृत्व तथा चर्चित सदस्य अहिले भूमिगत भएका छन् । सक्नेहरू देश छाडेर भागेको बताइन्छ । 

– अल जजिराबाट
 

सुझावित समाचार