अमेरिकाको विमान दुर्घटनाः २८ जनाको शव भेटियो, सबैको मृत्यु भएको आशंका

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकाको वाशिङ्टन डिसीस्थित रिगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर  भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको आशंका गरिएको छ । २८ जनाको शव निकालिएको छ । 

स्थानीय समयअनुसार बुधबार राती आकाशमै जेट र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको जेट र सेनाको हेलिकोप्टर ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो । विमान दुई टुक्रा भएर खसेको र हेलिकोप्टर उल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

  स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले २८ जनाको शव निकालिएको र जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्। विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक थिए। 

 उच्च चिसोका कारण पनि नदीमा खोजीका लागि गोताखोर र उद्धारकर्मीहरूलाई कठिनाई भइरहेको छ ।  

क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा रहेको रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरसँग ठोक्किएको हो । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको अनुसन्धान थालिएको बताएका छन्। 
 

सुझावित समाचार