प्यालेस्टिनी लडाकु समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजनाअनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि बिहीबारै रिहा गरिनेछ ।
उत्तरी गाजापट्टीको जबालियाको एक मञ्चमा हमास लडाकुहरूले परेड गरेपछि सैन्य पोसाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो। इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उहाँको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’पछि परिवारको जिम्मा लगाइने बताएको छ ।
यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीनजना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो ।
हमास र सहयोगी लडाकु समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदान–प्रदानको औपचारिक कार्यक्रमअघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एक–अर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो ।