दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुला बाँसुरीवादन प्रतियोगिताको उपाधि कैलाश राईले जितेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमका राईले १३ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधि जितेका हुन् ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेका लक्ष्मण राई दोस्रो, सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेस्रो तथा हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमका कविन्द्र राई चौथो भएका छन् । विजयी प्रतियोगीहरूले क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र रु. तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
वरिष्ठ बाँसुरीवादक नगेन्द्रविक्रम राई, गायक तथा संगीतकारहरू भलाकाजी राई र नवीन राई ‘संघर्ष’ बाँसुरीवादन प्रतियोगिताको निर्णायक थिए । जिल्ला तथा जिल्लाबाहिरका गरी १४ जनाले बाँसुरीवादन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताकाे उद्घाटन कार्यक्रममा वरिष्ठ बाँसुरीवादक नगेन्द्रविक्रम राईले बाँसुरी बजाएर सोलो प्रस्तुति दिएका थिए । बाँसुरीवादन प्रतियोगिताकै अवसरमा विद्यालयस्तरीय गायन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
गायन प्रतियोगितामा जालपा मावि जालपा प्रथम, ज्योति मावि जालपा दोस्रो, सरस्वती मावि दिक्तेल तेस्रो र दिक्तेल अंग्रेजी आवासीय विद्यालय चौथो भएको आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिए । गायन प्रतियोगितामा विजयी विद्यालयहरूले क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार र पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यालयस्तरीय गायन प्रतियोगितामा जिल्लाका नौवटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी जालपा मावि नुनथलाले नगद रु. तीन हजार र जगदम्बा मावि बुइपाले रु. दुई हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा जगदम्बा मावि बुइपाका शिक्षक राजनकुमार बास्तोलाको रचना उत्कृष्ट भएको छ भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अनिलकुमार राईको संगीत उत्कृष्ट भएको जनाइएको छ । उत्कृष्ट रचनाकार र संगीतकार दुवैजनाले नगद रु. पाँच–पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यालयस्तरीय गायन प्रतियोगितामा केशव कार्की, नरेन्द्र निर्विकार, नवीन राई ‘संघर्ष’, नगेन्द्रविक्रम राई र भलाकाजी राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताका विजयी बाँसुरीवादक तथा विद्यालयहरूलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गरेका छन् ।
बाँसुरीवादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिताको माध्यमबाट बाँसको उपयोगिताबारे स्थानीयवासीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । नगरपालिकाले आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा बाँसुरीवादन तथा विद्यालयस्तरीय गायन प्रतियोगिता आयोजना गरेको हो ।