बिग्रिएका पुराना मेसिन मर्मत गर्नुको सट्टा लोडसेडिङलाई बहाना देखाएर उद्योग निरन्तर बन्द, उद्योग सञ्चालन नहुँदा करिब एक लाख बोरा सिमेन्ट उत्पादन गर्ने कच्चा पदार्थ गोदाममै थन्कियो
निरन्तर घाटा व्यहोरिरहेको हेटौँडा सिमेन्ट उद्योग असोजदेखि पूर्ण रूपले बन्द हुँदा थप मारमा परेको छ । बिग्रिएका पुराना मेसिन मर्मत गरेर सञ्चालन गर्नुको सट्टा सामान्य विद्युत् कटौतीलाई बहाना देखाएर उद्योग निरन्तर बन्द छ ।
एकातिर अपरेटिङ खर्च धान्न नसक्नु र अर्कातिर पुराना उपकरण बारम्बार बिग्रनु उद्योगको नियति बनेको छ । जसका कारण उद्योग चालू आर्थिक वर्षमा जम्मा २६ दिन मात्रै चलेको छ । चालू आर्थिक वर्षको ६ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन चलेको हो ।
चालू आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । तर, ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग अहिलेसम्म चल्न सकेको छैन ।
सरकारले हालै निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो । पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठुलो रकम निकासा मागेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगको बारेमा कुनै निर्णय हुन सकेको छैन ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत गत असोजमा उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने, तर निजी क्षेत्रलाई भाडामा दिन सक्ने आशय व्यक्त गरेका थिए । उनले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको जानकारी दिँदै छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका थिए ।
यता उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डे भने उद्योग मंसिरदेखि विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङका कारण सञ्चालनमा आउन नसकेको बताउँछन् । उनका अनुसार उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । विद्युत् प्राधिकरणले घोषित रूपमा लोडसेडिङ नगरे पनि बिहान र बेलुका तीनतीन घण्टा विद्युत् अवरुद्ध हुँदै आएको प्रबन्ध निर्देशक पाण्डेको भनाइ छ । ‘दसैँअघि उपकरणमा समस्या आएपछि बन्द भएको उद्योग मर्मत गरेर तिहारपछि सञ्चालन गर्ने तयारी थियो । मर्मतका लागि सोचेभन्दा बढी समय लाग्दा पनि हामीले तोकेको समयमै उद्योग सञ्चालन गर्न सकेनौँ । तर, विद्युुत् प्राधिकरणले मंसिरदेखि अघोषित रूपमा लोडसेडिङ गरिदिँदा उद्योग अहिले पनि बन्द छ,’ उनले भने ।
प्रबन्ध निर्देशक पाण्डेले उद्योग सञ्चालन गर्न सके करिब एक लाख बोरा सिमेन्ट उत्पादन गर्न सकिने कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिए । उनले हाल उद्योगसँग एक बोरा पनि मौज्दात सिमेन्ट नरहेको बताए ।
उनले नियमित विधुत सप्लाईका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै आग्रहसमेत गरेको बताए । सुक्खा मौसम सुरु भएकाले पर्याप्त मात्रामा विद्युत् उत्पादन हुन नसकेको र भारतबाट समेत बिजुली ल्याउन ढिलाइ भएका कारण उद्योगहरूलाई आवश्यक बिजुली दिन नसकेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराएको उनले बताए ।