जुम्लामा मंसिरदेखि पानी र हिउँ नपर्दा खडेरीले सताउन थालेको छ । मंसिरमा परेको पानीले गहुँ र जौखेती फस्टाउने तथा माघमा हुने हिमपातले स्याउ बगैँचालाई सिँचाइ पुग्ने भए पनि यो वर्ष खडेरीले सताइरहेको सिँजा गाउँपालिका– ४, माथिल्लो गोठीका किसान हरिबहादुर बुढाले गुनासो गरे । ‘अहिले जुम्लामा हिउँ पर्ने सिजन हो । तर, पानी पनि आएको छैन, हिउँ पर्ने त सुरसारै छैन,’ उनले भने, ‘भदौदेखि पानी र हिउँ नपर्दा लामो समयदेखि खडेरीले सताइरहेको छ ।’
खडेरीका कारण गहुँ, जौ, आलु रोप्न तथा स्याउ बगैँचा स्याहार्न मुस्किल बन्दै गइरहेको उनले बताए । जिल्ला कृषि विकास कार्यालय, जुम्लाका अनुसार दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर खेतीयोग्य छ । त्यसमध्ये तीन हजार तीन सय ६४ हेक्टर सिञ्चित र २३ हजार ७१ हेक्टर पाखो बारी छ । किसानले सिँचाइ नहुने जमिनमा कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो, स्याउ, ओखरलगायत रोप्ने गरेका छन् । कुल खेतीयोग्यमध्ये २६ हजार चार सय ३५ हेक्टरमा मात्रै खेती भइरहेको कृषि कार्यालयले जनाएको छ ।
पातारासी गाउँपालिका–७, रिनी गाउँका शेर बुढाले दुई–तीन वर्षयता समयमै हिउँ नपरेको गुनासो गरे । उनले भने, ‘दुई–तीन वर्षपहिलेसम्म १०–१२ बोराका दरले आलु, मकै, जौ, गहुँ उत्पादन हुन्थ्यो । त्यसले चार–पाँच महिना परिवार पालिन्थ्यो । तर, पछिल्ला वर्षमा समयमै हिउँ नपर्नाले उत्पादन घटेको छ,’ उनले भने, ‘५–६ बोराभन्दा बढी उत्पादन बढ्दैन ।’ तातोपानी गाउँपालिका– २ का किसान दत्त बुढाले १४–१५ बोरा उत्पादन हुने मार्सी धान खडेरीका कारण घटेर पाँच–सात बोरामा झरेको गुनासो गरे ।