प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद् सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेरसहित पारित गरेको हो। माघ १८ गते संसद्को पहिलो बैठकमा शीर्ष नेताहरू सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ। उनले संसद्को आगामी अधिवशेनमा बढीभन्दा बढी विधेयकहरूलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुर्याउने कुरामा सत्तापक्ष गम्भीर रहेको बताए।
त्यस्तै, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रूपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए। उनले बैठकमा आफूहरूले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको विषयमा कुरा उठाएको बताए।
उनले कांग्रेसले अब देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफूहरूले प्रतिवाद गरेको जानकारी दिए।
त्यस्तै, कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफूहरूले नराखेको, बरु समयमा नै कानुन बन्न नसके अध्यादेश नै विकल्प हुने बताएको स्पष्ट पारे।
कानुन बनाउन भएको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको विषयलाई माओवादी सचेतकले अतिरञ्जित गर्ने काम गरेको उनको भनाइ छ।
उनले कानुन बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए।
अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको र देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए। घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे।