दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलले जितेको छ। नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कांस्य पदकसहित दिक्तेल बोर्डिङले उपाधि जितेको हो।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भयो। उसले १० स्वर्ण, १० रजत र ११ कांस्य हात पार्याे।
चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौ स्वर्ण, ६ रजत र पाँच कांस्य पदकसहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय हुँदा पाँच स्वर्ण, चार रजत र दुई कांस्यसहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ।
भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो गरी पाँच विधा तथा ४९ इभेन्टमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा माउन्ट एभरेस्ट बोर्डिङ स्कुल दिक्तेलले तीन स्वर्ण, एक रजत र सात कांस्य पदकसहित पाँचौँ स्थान हासिल गरेको छ।
नगरपालिकाको आयोजना तथा जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माको सहआयोजनामा सञ्चालित प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो। प्रतियोगितामा ६३२ विद्यार्थीले सहभागिता जनाएका सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिए।
प्रतियोगिताको उपाधि विजेता विद्यालयलाई नगद रु. २१ हजार १११ को साथमा रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। प्रतियोगिताका उपविजेता तथा विधागत विजयी विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु. १० लाख उपलब्ध गराएको नगरपालिकाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिए। प्रतियोगितामा सहभागी सबै विद्यालयलाई खेल सामग्री तथा यातायात भाडाबापतको रकम उपलब्ध गराइएको आयोजकले जनाएको छ।